नेपालमा रहस्यमय हिममानव भेटियो

काठमाडौँ ।

सम्पूर्ण विश्वका लागि सदिऔंदेखि रहस्यमय रुपमा रहँदै आएको हिममानव अर्थात् यतिको पाइला फेला परेको छ । नेपालको मकालु हिमालको आधार शिविरमा भारतीय सेनाको पर्वतारोहण टोलीले गत अप्रिल ९ का दिन यतिको पाइला देखेको हो ।उक्त तस्बिर भारतीय सेनाको ट्वीटर ह्याण्डलबाट सार्वजनिक गरिएको छ । तस्बिरमा पाइलाको आकार ३२ गुणा १५ इन्च रहेको छ । यसअघि पनि मकालुवरुण राष्ट्रिय निकुन्जमा यति देखिएको बताइएको छ।

सेनाले सार्वजनिक गरेका यो तस्बिका विषयमा सामाजिक सन्जालमा विभिन्न किसिमले चर्चा भएको छ । कतिले आश्चर्य व्यक्त गरेका छन् भने केहीले चुनावसँग जोडेर मजाक बनाएका छन् । जम्मु–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले ट्वीटरमा लेखेका छन्, ‘बिजेपी कसरी हिममानवको मुद्दालाई आफ्नो चुनावी प्रचारमा प्रयोग गर्ने भनेर सोचिरहेको होला ।’

रुद्र नामका अर्का व्यक्तिले लेखेका छन्, ‘पक्कै पनि यो हिममानव मोदीलाई भोट दिन बाहिर आएको होला ।’
कतिले तस्बिरमा एउटामात्र पाइला देखाइएकोमा शंका गरेका छन् ।

के हो रहस्यमय हिममानव ?

तिब्बत र नेपालमा पाइने दाबी गरिएको यति अझै पनि काल्पनिक नै रहेको छ । यसलाई अहिलेसम्म कसैले पनि प्रत्यक्ष देखेको छैन । यो बाँदरजस्तै तर विशाल जीव रहेको अनुमान गरिँदै आएको छ । यसका विषयमा सयौं अनुसन्धान भएका छन् भने अर्बौं रकम खर्च भइसकेको छ ।

२०१३ मा अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धानमा हिमालयको मिथक हिममानव यति भालुको एक उपप्रजाति हुन सक्ने दाबी गरिएको थियो । तर स्काइज नामका अर्का प्राध्यापकले यतिको मिथकका पछाडि वास्तवमा त्यस्तै जीव रहेको हुन सक्ने बताएका थिए ।

अमेरिकी वैज्ञानिक शालर्ट लिन्डक्विस्टले यतिको भनिएको अवशेषको डीएनए टेस्ट गर्दा एशियाई कालो भालु या तिब्बतको खैरो भालुको रहेको पत्ता लगाएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।