कलाकारको आवरणमा मानव तस्करी गर्ने सुर्दशन गौतम विरुद्ध रेडकर्नर नोटिस जारी

वैशाख १३,काठमाडौँ

कलाकारको आवरणमा अमेरिका र क्यानडा लैजाने भन्दै संगठित मानव तस्करीको गिरोह चलाइरहेका सुर्दशन गौतम विरुद्ध प्रहरीको अन्तराष्ट्रिय संगठनले रेड कर्नर नोटिस जारी गरेको छ । हिम्मतवाला नामक फिल्ममा अभिनय गरेर र सगरमाथा समेत आरोहण गरेका दुवै हात नभएका गौतम क्यानडामा बस्दै आएका छन् ।गौतमले संगठित रुपमा मानव तस्करीको धन्दा चलाएको र सयौं नेपालीबाट करोडौं रुपैयाँ असुलेर अलपत्र पारेको भन्दै महानगरिय प्रहरी अपराध महाशाखाले पछिल्लो एक वर्षयता अनुसन्धान गर्दै आएको थियो। २०७५ साउन ३ मा काठमाडौं जिल्ला अदालतले गौतम विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। लगत्तै साउन २३ मा महाशाखाले उनी विरुद्ध रेडकर्नर नोटिस जारी गराउने प्रक्रिया थालेको थियो।

सुर्दशनकै पहलमा २०७४ जेठमा भारतको दिल्ली हुँदै अमेरिका जान भनेर हिँडेका तीन महिलामध्ये दुईजना ६० लाख रुपैयाँ गुमाएर, महिनौंको हैरानीपछि नेपाल फर्केपछि गौतमको मानव तस्करी धन्दा बाहिर आएको हो।

सुर्दशनकै योजना मुताविक हैटीमा रहेको हैटी फिल्म कम्पनी र नेपालको केपी फिल्मसले संयुक्त रुपमा ‘संस्कार’ नामक फिल्म बनाउने भन्दै भक्तपुरकी सुमित्रा कुँवर सहितका तीन महिलालाई हैटी पुर्‍याएका थिए।

२३ जनवरी २०१७ मा हैटी फिल्मसले सुमित्रा लगायतका तीनै जनाको निम्ती आमन्त्रण पत्र पठाएको थियो। उक्त पत्रमा कम्पनीका निर्देशक र प्रोडक्सन म्यानेजरको हैसियतमा चार्ल्स ईलेस्टोले हस्ताक्षर गरेका छन् भने फिल्म छायांकनका निम्ती पाँच नेपाली कलाकार हैटी बोलाइएको तथ्य उल्लेख छ। यही पत्रको भरमा तीन महिला दिल्लीबाट मस्को, कोलम्बियाको राजधानी बोगटा हुदै डोमिनिका र त्यहांबाट हैटीको पोर्ट औं प्रिन्स पुगेका थिए।

त्यतिबेला अमेरिका हिडेका उनीहरुलाई सुर्दशनले हैटीको राजधानी पोर्ट औं प्रिन्समा लगेर महिनौंसम्म राखेका थिए। पोर्ट औं प्रिन्सबाट अमेरिका छिने भन्दै अवैध पानीजहाजमा हिडेका तीन नेपाली महिला सहितको जहाजको दिशासूचक यन्त्र बिग्रिएपछि १८ दिनसम्म जहाज समुन्द्रमा हराएको थियो। सामुन्द्रिक सुरक्षामा खटिएका बहामास नामक टापु देशका सैन्य अधिकारीहरुले जहाजको उद्धार गर्दा यात्रारत कुँवरको मृत्यु भइसकेको जानकारी बाहिर आएको थियो। मानव तस्करका एजेन्टले जहाज हराएपछि पानी र खानाको अभाव भएको र समुन्द्रको पानी धेरै खाएपछि सुमित्राको मृत्यु भएको र शव गन्हाउने भएकाले समुन्द्रमा फ्याँकिदिएको बताएका थिए।

नेपाल प्रहरीको इन्टरपोल शाखाका एक प्रहरीले झण्डै आठ महिना लामो प्रयास पछि गौतम विरुद्ध रेडकर्नर नोटिस जारी गर्न सफल भएको बताए ।

स्रोतः कान्तिपुरडेली डटकम

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।