रथ तान्ने क्रममा भक्तपुरमा ढुंगा हानाहान ९ घाइते

बैशाख ६,काठमाण्डौ ।
भक्तपुरमा गएराति बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् । गहिटीबाट रथ अघि बढाउने क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद भएपछि ढुंगा हानाहान भएको हो । गहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्याएर एउटा घरमा रथ ठोक्किएपछि तनावको स्थिति उत्पन्न भएको भक्तपुर प्रहरीले जनाएको छ ।

ढुंगा हानाहानमा भक्तपुरका माइला दुवाल, रोजेश शिलाकार, अशिष शिलाकार, रौतहटका उमेश कुमार, काभ्रे मण्डन देऊपुरका विकास तामाङ घाइते भएका छन् । त्यस्तै, मनीष कासुला र रिमेश शाही पनि घाइते छन् । घाइते सबैको भक्तपुर अस्पतालमा उपचार गरिएको छ ।

रथबाट खसेर अर्का १ जना घाइते भएको प्रहरीले जनाएको छ । भक्तपुर नगरपालिका–५, चोछेका पुण्यराम सितिखु रथबाट लडेर घाइते भएका हुन् ।केहीबेर तनाव भएपनि स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनः रथ तानेर टौमढी, गःहिटी हुँदै वंशगोपाल लगिएको छ ।

भक्तपुरमा गत वर्ष पनि रथ तान्ने क्रममा विवाद हुँदा ढुंगा हानाहान भएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।