पूर्व राजाको गाडीले ठक्कर दिदा एकको मृत्यु

विराटनगर।

पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिने सादा पोशाकको सशस्त्र प्रहरीले प्रयोग गर्ने बा ३ च ७९६२ नम्बरको पछुवा कारले मोरङको सुन्दरहरैंचा–९ बुधबारेमा दुई जना सवार एउटा मोटरसाइकललाई ठक्कर दिएको छ । दुर्घटनामा को १५ प ९९७८ नम्बरको मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय हेम चौधरीको मृत्यु भएको छ । मोटरसाइकल चालक २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।

राति ८ बजे भएको दुर्घटनामा दुवै जना गम्भीर घाइते भएका थिए । घाइते मध्ये हेमको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । नोबेलमा उपचार सम्भव नभएपछि प्रकाशलाई थप उपचारका लागि विराट नर्सिङ होम लगिएको छ । रगत जमेका कारण उनको टाउकोको शल्यक्रिया गरिएको र ४८ घण्टासम्म अब्जरभेसनमा राख्नु पर्ने चिकित्सकले बताएका छन् । न्युरो सर्जन डा. विवेक वैद्य नेत्रृत्वको टोलीले टाउकोको शल्यक्रिया गरेका चौधरीको अझै होस खुल्न सकेको छैन । डा. वैद्यले टाउकोमा रगत जमेका कारण शल्यक्रिया गरिएको र अवस्था भने खतरामुक्त नरहेको जानकारी दिए ।

पूर्व राजा ज्ञानेन्द्र र पत्नी कोमल समेतको टोलीलाई विराटनगर विमानस्थलसम्म सुरक्षा दिंदै आएको कारले टोलीलाई विमानस्थलमा छाडेपछि झापाको दमकतर्फ फर्कने क्रममा मोटरसाइकललाई ठक्कर दिएको डीएसपी श्रेष्ठले बताए । गाडी झापाको दमकबाट पूर्व राजासहितको टोलीको पिछा गर्दै विराटनगर विमास्थलसम्म आएको थियो ।

पूर्व राजा ज्ञानेन्द्र भने पत्नी कोमलसहित ११ जनाको टोलीका साथमा बुधबार साँझ ६ः५० बजेको श्री एयरलायन्सको जहाजमार्फत विराटनगरबाट काठमाडौं प्रस्थान गरेपछि गाडी दमकतर्फ नै फर्किएको थियो । त्यही क्रममा निशान कम्पनीको कारले मोटरसाइकललाई ठक्कर दिएको हो । विशेष गरेर ज्ञानेन्द्र निर्मल निवासमा रहेका बेला र उनको भ्रमणका समयमा सुरक्षाका लागि सादा पोशाकमा रहने सशस्त्र प्रहरीले यो गाडीको प्रयोग गर्छन । पूर्व राजा केही दिनदेखि पूर्व क्षेत्रको भ्रमणमा थिए । पूर्व बस्दा पूर्व राजाले शुभचिन्तक र समर्थकसँग भेटघाट तथा विभिन्न मन्दिरहरुमा पूजापाठ गरेका थिए ।

दुर्घटनाका बेलामा कार भित्र सुट्केस, झोला लगायतका सामानहरु थिए । गाडीका चालक सशस्त्र प्रहरीका जवान दाङ घर भएका दीपेन्द्रप्रसाद लम्सालले सुट्केस र झोलामा कपडासहित पूर्व राजाको सचिवालयको सामान रहेको जानकारी दिएका छन् । राजालाई विमानस्थलसम्मको स्कर्टिङको व्यवस्था गरेको इन्सपेक्टर नेत्रृत्वको सशस्त्र प्रहरीको टोली रहेको अर्को गाडी भने दुर्घटनामा परेको कार भन्दा केही अगाडि पुगिसकेको थियो । ‘विमानस्थलबाट दुवै गाडी सँगसँगै आएका रहेछन्,’ प्रहरीका एक अनुसन्धान अघिकृतले भने, ‘दुर्घटनाका बेला स्कर्टिङमा खटिएको अर्को गाडी भने कार भन्दा अलि अगाडि पुगिसकेको थियो ।’

पूर्व राजाको सचिवालयको सामानसहित बोकेर कार शुक्रबार काठमाडौं फर्कने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘पूर्व राजा जहाँ गए पनि सादा पोशाकका सशस्त्रले सुरक्षाका लागि यो गाडीको प्रयोग गर्ने गरेको पाइएको छ,’ नेपाल प्रहरी स्रोतले भन्यो, ‘ज्ञानेन्द्रको टोलीलाई विराटनगर विमानस्थलसम्म छाडेर झापाको दमक फर्किएको कार शुक्रबार काठमाडौं लैजाने तयारी सशस्त्रले गरेको रहेछ ।’

दुर्घटनामा मोटरसाइकलसँगै ठक्कर दिने कारको अगाडि र साइडको भागमा पनि क्षति पुगेको छ । दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए । चालक सशस्त्रका जवान लम्साललाई सवारी ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

पुर्बेलीन्युज

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।