किन राजदूतले समाचार/तस्वीर नछाप्न ‘उर्दी’ जारी गरे?

बीएल विशेष/वासिङ्टन डीसी

नेपाल पुगेर प्रचण्डले अमेरिकामा रहेका ‘केही नेपाली’ आफ्नो भ्रमणप्रति भ्रम छर्न र नेपालको बेइज्जत गर्न लागिपरेको भन्दै गुनासो गरे।तर, त्यस्तो वातावरण बनाउँन अमेरिकाका नेपाली राजदूतको भूमिका पनि उत्तिकै जिम्मेवार थियो भन्ने पनि बुझ्न जरूरी छ। उनले सञ्चारकर्मीलाई तस्वीर र समाचार नछाप्न दिएको उर्दी पनि वातावरण बिगार्न नै सहयोगी भयो। अमेरिका भ्रमणमा रहेका प्रचण्ड नेपाल पुगिसकेपछि पनि यता अमेरिकामा उनको भ्रमणको चर्चा सेलाएको छैन। यही क्रममा अहिले अमेरिकाको नेपाली डायस्पोरामा एउटा जर्बजस्त प्रश्न उठेको छ- प्रचण्ड नेपाल पुगेपछि मात्र किन उनीसँग खिचिएका फोटा र भेटघाटसँग सम्बन्धित समाचार बाहिरिए ?

प्रचण्ड अमेरिका रहुन्जेल उनीसँग सम्बन्धित समाचार पुष्टी गर्न कोही तयार भएन। उनको भ्रमणसँग सम्बन्धित सबैभन्दा बढी समाचार सार्वजनिक गर्ने बी एन लिंक्सले धेरै ठूलो माथापिच्ची गरेर समाचार बाहिर ल्याउँनु परेको थियो। समाचारका क्रममा फोन सम्पर्कमा आएका अधिकारीहरूले पनि नाम नबताउँने शर्तमा मात्र आफू उदृत हुन मानेका थिए। नेपालमा रहेका अधिकांश सञ्चार माध्यमले हाम्रै समाचारलाई स्रोत बनाएर समाचार बनाएका थिए।

तर, जब प्रचण्डले न्युयोर्कबाट अमेरिका छोडे, त्यसपछ भने वर्षे च्याउसरी सामाजिक सञ्जालमा प्रचण्डसँग खिचिएका पोज पोजका तस्वीरहरू सार्वजनिक भए। यसरी तस्वीर सार्वजनिक गर्नेमा अमेरिकामा रहेको नेपाली डायस्पोराका ‘एलबमप्रेमी सामाजिक अभियन्ता’हरू नै धेरै थिए।विरालोको घाँटीमा कसले घण्टी बाँध्ने शैलीमा तस्वीरहरू सार्जनिक भए। केही अनलाइनले पनि तस्वीरसहित समाचार पनि बनाए।

प्रचण्डसँग भेटघाट गर्ने विज्ञका रूपमा समावेस हुनेमा पत्रकारिता वा सञ्चारकर्मसँग जोडिएका गुणराज लुइँटेल ‘स्मित’, सुनील मणी दाहाल, विजय थापा र खेम भट्टचन पनि थिए। उनीहरूले पनि प्रचण्डले अमेरिका नछोडुञ्जेल मुख खोलेनन् ।

फुल फ्लेज्ड समाचार लेख्न नभ्याए पनि सामाजिक सञ्जालमै भए पनि तस्वीरहरू राखेर स्टाटस फेरिरहने उनीहरूले प्रचण्डलाई भेटेर पनि किन समाचार बाहिर ल्याएनन् त ?

यस प्रश्नको उत्तरमा इन्जाका उपाध्यक्षसमेत रहेका सुनील मणी दाहालले एक आलेखमा लेखेका छन्- ‘अमेरिकास्थित नेपाली दूतावासले बिभिन्न पक्षका बिज्ञ निम्त्याएर काकासँग अन्तरक्रिया गरेको थियो। कार्यक्रम शुरु हुनुपूर्व राजदुत अर्जुन कार्कीले हुकुम गरे- फोटो नखिच्नु होला।समाचार नबनाउनु होला। धेरै बिवाद छ। यस्तो क्रियाकलापले यो टोपी (नेपाली टोपो देखाउँदै) को बेइज्जत र सिङ्गो देश र नेपालीकै बेइज्जत हुन्छ।

‘भ्रमणका बारेमा भ्रम छर्न दूतावासको भूमिका पनि कम जिम्मेवार छैन। दूतावासले ठाडै सूचना लुकाउन उर्दी जारी गर्नु प्रेस स्वतन्त्रताको बर्खिलाप हो। नेपालका पूर्वप्रधानमन्त्री, सत्तासिन दलका अध्यक्ष तथा देशमा परिवर्तन ल्याउने एक प्रमुख योजनाकार तथा नेताजस्तो ब्यक्ति आउँदा सूचना नलुकाई दूतावासले बेलाबेलामा सानो बिज्ञप्ती जारी गरेको भए कसैले अनुमानका भरमा समाचार बनाउने र नानाभाति कुराले सामाजिक सञ्जाल रंगाउने अवस्था आउँने थिएन।’

उनले आलेखमा भेटघाटको दृश्यको पनि वर्णन गर्दै लेखेका छन्- ‘काका प्रचण्ड भेटघाट कक्षमा प्रवेश गर्नु अघि नै राजदूत कार्कीले आदेश दिएकाले यसबारेमा काकालाई थाहा नहुन सक्छ।’

यो भनाइले के पुष्टी हुन्छ भने अमेरिकाका लागि नेपाली राजदूत कार्की नै प्रचण्डको भ्रमणसम्बन्धी समाचार लुकाएर भ्रम छर्न लागिपरेका थिए। उनले सुरूदेखि नै प्रचण्डमाथि एक किसिमको अप्ठ्यारो स्थिति छ भनेर मनोवैज्ञानिक आतंक सिर्जना गरेका थिए र प्रचण्डलाई पत्रकार तथा सञ्चारकर्मीबाट टाढा राखेका थिए।

प्रचण्डले काठमाडौै पुगेर राजदूतले भूमिगत शैलीमा विमानस्थलबाट निकाल्न लागेको प्रसंग उठाउँदै त्यो अनाबश्यक भएको बताएका थिए। यो भनाइबाट पनि उनी राजदूत कार्कीको रणनीतिसँग त्यति सन्तुष्ट नभएको जस्तो देखिन्थ्यो।

प्रचण्डको अमेरिका भ्रमण जतिसुकै सफल र आनन्ददायी भनिए पनि त्यस्तो रहेन। न्युयोर्क छोड्नुअघिसम्म नै उनलाई कब्जामा लिएर एक किसिमको मनौवैज्ञानिक त्रासको वातावरणमै राखियो।उनको बडी ल्याङ्गवेजलाई नजिकबाट हेरेका इन्जाका उपाध्यक्ष सुनील मणी दाहालले पनि आफ्नो आलेखमा त्यस बारेमा लेखेका छन् ।

नेपाल पुगेर प्रचण्डले अमेरिकामा रहेका ‘केही नेपाली’ आफ्नो भ्रमणप्रति भ्रम छर्न र नेपालको बेइज्जत गर्न लागिपरेको भन्दै गुनासो गरेका छन्। तर, त्यस्तो वातावरण बनाउँनका लागि अमेरिकाका नेपाली राजदूतको भूमिका पनि उत्तिकै जिम्मेवार थियो भन्ने पनि बुझ्न जरूरी पनि छ। यसै पनि राजदूत डा. कार्कीको यहाँको नेपाली डायस्पोरासँगको सम्बन्ध सुमधुर छैन। पीआर र डिप्लोमेसी दुबैमा चिप्लिएका उनी अनेकौ विवादमा पनि तानिएका छन्। प्रचण्डको भ्रमण लोकप्रिय नबन्नुको पछाडिको एउटा कारण यो पनि हुन सक्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।