चैत्र ३, काठमाडौँ । न्युज २४ टेलिभिजन बाट प्रसारित सिधा कुरा जनता सँगका कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछानेले पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्द टेलिभिजन कार्यक्रममा बोलेको भन्दै माओवादी कार्यकर्ताहरू आक्रोशित बनेका छन् ।रविले बोलेको अभिव्यक्तिलाई लिएर कारबाहीको आवाज उठेको छ । रविलाई सामाजिक सञ्जाल बाटै कारबाही देखी ज्यानै लिने सम्म धम्की दिएका छन् । पूर्व माओवादीका निकट युवा सङ्गठन वाइसियल नेपालका कार्यकर्ताले लामिछानेको ज्यान लिने सम्मको धम्की दिएको पाइएको छ ।
वाईसिएल नेपाल काठमाडौँ जिल्लाका पूर्व अध्यक्ष समेत रहेका शिव कोइराला ज्वालाले लामिछानेको वेवारिसे लास बनाइदिने धम्की दिएका छन् ।‘सरकार रवि लामिछानेलाई तह लगाउने हैसियत राख । अन्यथा रवि वेवारिसे लास हुँदा तेरो अनुसन्धान गर्ने क्षमता कमजोर छ तै लाई अवगत होला है ।’ ज्वालाले सामाजिक सञ्जालमा लेखेका छन् ।त्यस्तै लामिछानेले व्यक्तिगत तवरमा निकृष्ट गालीगलौज गरिको भन्दै अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले लामिछाने माथि कारबाहीको माग गरेका छन् । उनले फेसबुकमा लेखेका छन् “प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रवि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनेले आफूलाई कसरी स्पष्ट गर्छन् ? न्यूनतम मानवीय मर्यादा र सभ्यता विरुद्धको उनको त्यो वाणी सुनेपछि मलाई उनी पत्रकारिताको मर्म र धर्मभित्र भएजस्तो पटक्कै लागेन । यसलाई कार्वाहीको विषय बनाइयोस् । उनले पत्रकारिताको खोल ओढेर अरू कर्म वा कुकर्म नगरुन्।” वरिष्ठ उपाध्यक्ष बस्नेतले लामिछानेले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन् भन्ने चेतावनी समेत दिएका छन ।
यसै बिषयमा पत्रकार लामिछानेले पनि सामाजिक संजाल बाटै स्पसष्टीकरण दिएका छन् । आफुले बोलेको कुरा सुन्न र हेर्न सबैलाई आग्रह समेत गरेका छन् ।