झापा मेचीनगर—५ का धनप्रसाद भण्डारी गिरी मोटरसाइकल दुर्घटनामा घाइते भए। उनलाई बी एन्ड सी अस्पताल भर्ना गरियो। अस्पतालमा २० दिन बसेपछि गत बिहीबार उनको मृत्यु भयो। परिवारले सात लाख ७५ हजार नगद बुझाएर शव लगे।५४ वर्षे गिरीको दाहिने खुट्टा भाँचिएको थियो। उपचारपछि डिस्चार्ज गर्ने तयारी हुँदै थियो। अचानक उनको मृत्यु भएपछि मेची नगरका तीन सय स्थानीयबासीले अस्पतालसँग कारण खोजे। तर अस्पतालले चित्तबुझ्दो जवाफ दिएन। आफन्त शव बुझ्न बाध्य भए। अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको आरोप परिवारले लगाएको छ। हृदयघातका कारण उनको मृत्यु भएको दाबी अस्पतालले गरेको छ। तर, छोरा विनोदले अस्पतालको लापरवाहीकै कारण बुबा गुमाउनु परेको बताए। उनले भने, ‘निको भयो भनेर डिस्चार्ज दिने तयारी हुँदाहुँदै बुबा बित्नु भयो। यसमा डाक्टरको गम्भीर लापरवाही छ।’
‘अब कहिल्यै पनि फर्किएर आउन नपरोस्,’ उनले थपे।
बी एन्ड सीजस्ता केही अस्पताल मेडिकल कलेज चलाउने पाइपलाइनमा छन्। इलाममा १६ औं सत्याग्रह सुरु गर्नुअघि डा. गोविन्द केसीले त्यस्ता अस्पताललाई भनेका थिए, ‘बिरामीलाई सर्वसुलभ स्वास्थ्य सेवा दिनुस् तर मेडिकल कलेजका लागि पर्खनुस्।’
तर एन्ड बीजस्ता अस्पतालको सेवा सर्वसुलभ छैन। तिनले अत्याधुनिक सेवाको दाबी त गर्छन् तर स्वास्थ्य सेवा त्यस्तो छैन। पूर्वको झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लाबाट बी एन्ड सी पुगेका कतिपय सेवाग्राहीले उपचारका नाममा घरबार र भएभरको सम्पत्ति मात्रै सकेका छैनन्, परिवारका सदस्य पनि गुमाएका छन्। त्यसैले उनीहरु फेरि फर्केर आउन नपरोस् भन्ने कामना गर्छन्।
बी एन्ड सीमा सेवा लिएर जनधन गुमाउने गिरी परिवार पहिलो होइन। साउन १३ गते मेची राजमार्गको बर्ने खण्डमा दुईवटा मोटरसाइकल आपसमा ठोक्कियो। इलामको रोङ गाउँपालिका–४ का ३३ वर्षीय अरुण तामाङ सख्त घाइते भए। उनलाई त्यही दिन बी एण्ड सी अस्पताल लगियो। १५ दिनपछि उनको मृत्यु भयो। अस्पतालले उनको परिवारबाट १६ लाख रुपैयाँ असुलेको दाजु निमा तामाङले बताए। ‘उपचारको दुई सातापछि अस्पताल प्रशासनले रकम तिरेर बिरामी लैजान भन्यो,’ निमा भन्छन्, ‘अस्पतालको ढोकाबाट निकाल्दा निकाल्दै उनको मृत्यु भयो।’ आईसीयूको नौ लाख, दुई दिन भेन्टिलेटरमा राखेको दुई लाख ५० हजार र फार्मेसीको चार लाख ३० हजारको बिल परिवारले तिर् यो।
आफ्नो अस्पतालको स्वास्थ्य सेवा महंगो भन्ने बिरामीको आफन्तको हल्ला मात्र भएको कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले बताए। न्युरोसम्बन्धी उपचार संसारभर महंगो हुने गरे पनि बी एन्ड सीले मिलाएर सस्तोमा गरिदिने दाबी उनले गरे।
इलामकै सूर्योदय नगरपालिकाका हरिप्रसाद तिम्सिनाका १४ वर्षीय छोरा प्रवीणको १९ महिनाअघि गाडीबाट लड्दा दाहिने हात भाँचियो। उनलाई बी एण्ड सी पुर् याइयो। उपचार गर्न तीन लाख ५० हजार लाग्छ भनेपछि परिवार नै संकटमा पर् यो। अस्पतालमा एक रात राखेको २४ हजार पाँच सय ५६ रुपैयाँ बुझाउनुपर् यो। त्यसपछि परिवारले उनलाई काठमाडौंको जोरपाटीमा रहेको नेपाल अर्थोपेडिक अस्पतालमा लाने निधो गर् यो। ‘अस्पतालले नमाने पनि बिरामीलाई काठमाडौं लगियो,’ तिम्सिनाले भने, ‘काठमाडौंमा २५ हजार रुपैयाँमा सबै उपचार भयो।’
-अन्नपुर्णपोष्टबाट