अभियन्ता हुन् रामचन्द्र मरहट्टा
१ जनवरी अर्थात् अंग्रेजी नयाँ बर्ष नेपालीहरुमा छुट्टै पहिचानको रुपमा परिचित हुदैछ। बिश्वभरी छरिएर रहेका नेपालीहरुमा अंग्रेजी नयां वर्षको दिनमा नेपाली टोपी लगाएर मनाउन थालेका छन्। अंग्रेजी नयाँ बर्षको परम्परागत उत्सव मनाउने शैलीलाई नै डोमिनेन्ट गर्ने गरी सामाजिक सन्जाल फेसबुकभर टोपी लगाइएका तस्विर छरिएका देखिन्छन । नेपालीहरुले जनवरी १ तारिख अर्थात् अंग्रेजी नयाँ बर्षलाई अन्तराष्ट्रिय टोपी दिवसको रुपमा उल्लासका साथ मनाउन थालेको ६ बर्ष पुगिसकेको छ।
के महिला, के पुरुष, के बालक, के बृद्ध , सबैको शिरमा टोपी सजिन्छ । ‘नेपाली बनौं, नेपालीपनमै रमाऔं…’ भन्ने मुल नाराका साथ संसारभर नेपाली समुदायमा अन्तराष्ट्रिय टोपी दिवस मनाईंन्छ । जनवरी १ , २०१९ अन्तराष्ट्रिय टोपी दिवस छैठौ बर्षमा प्रवेश गरेको छ र संसारभरका नेपालीहरुले उल्लासपूर्ण रुपले मनाउने तयारी गरिरहेका छन्।
अन्तराष्ट्रिय टोपी दिवसको अभियानले पाएको बिश्वब्यापिकरण र सो अभियानको सफलता देखेर दंग छन् यसका जन्मदाता । बेलायतमा उच्च शिक्षा अध्ययन गरेका गोरखा स्थायी घर भएका रामचन्द्र मरहट्टा उर्फ मचराले आजभन्दा ६ बर्ष अघि शुरु गरेको अभियान अहिले बिश्वब्यापी र सफल भएको छ । उनले फेसबुकबाट आव्हान गरेको यो अभियान यति सफल होला भन्ने पटक्कै थिएन ।
सन् २०१३ को अक्टोबरतिर मचराले फेसबुकबाटै नेपाली टोपी नेपाली राष्ट्रियता, पहिचान र अपनत्वको प्रतिक भएकाले यसको प्रचार प्रसार एवं संरक्षण गर्न जोड दिंदै अभियान थालेका थिए । उनले आफूले युवा समूहलाई नेपालमा ५ सय टोपी नै वितरण गरेर अभियानलाई तीव्रता दिएको झल्झल्ती सम्झन्छन् ।
अन्तराष्ट्रिय टोपी दिवसलाई सरकारी मान्यताका लागि पहल गरिरहेको मचराले जनाएका छन् । मचराको दावी छ – ” यो कुनै जात, धर्म, पेशा वा समुदायसंग लक्षित नभएर केवल राष्टियताका लागि गरिएको हो।