जाडोमा सतर्क भएर प्रयोग गर्नुहोस् हिटर, जानसक्छ ज्यान

काठमाडौं । पछिल्लो केही समययता तापमान घट्दो क्रममा छ । जाडोको कारण मानिसहरुको दैनिक कामहरु पनि प्रभावित बन्न पुगेका छन् । यस्तोमा जाडोबाट बच्नका लागि मानिसहरुले बाक्ला कपडाहरु लगाउनेलगायतका प्रयासहरु गर्ने गर्छन् ।

धेरै मानिसहरु न्यानोका लागि ब्लोअर तथा हिटरको प्रयोग गर्ने गर्छन् । यद्यपि यसले मानिसको छालामा पार्ने असरको विषयमा भने उनीहरु अनजान हुन्छन् । त्यसैले हिटर वा ब्लोअर चलाउँदाको समयमा आफ्नो र परिवारको स्वास्थ्यको ध्यान दिनु जरुरी हुन्छ । त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनु राम्रो हुन्छ –

१. हिटर नजिकै कुनै पनि कागज, ब्ल्यांकेटजस्ता बल्नसक्ने सामग्रीहरु राख्नु हुँदैन ।

२. आवतजावत हुने स्थानमा हिटर राख्नु हुँदैन । विशेषगरी बच्चाहरुको पहुँचबाट हिटरलाई टाढा राख्नुपर्छ र यसलाई समथर सतहमा राख्नु राम्रो हुन्छ ।

३. हिटरलाई बेलाबेलामा बन्द गर्ने र कोठा खोल्ने गर्दै गर्नुपर्छ । प्रयोग नभएको बेलामा हिटर बन्द गर्नु राम्रो हुन्छ । कोठा बन्द गरेर हिटर अन गर्दा त्यसबाट आउने कार्बन मोनोअक्साइडले मानिसको स्वास्थ्यमा निकै हानिकारक असर पार्छ । खाटमा सुत्न जानुअघि हिटर अन गर्नुहुँदैन । यस्तो गर्दा मानिसको ज्यानसम्म जान सक्छ ।

४. मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरुले एयर ब्लोयरको प्रयोग गर्नुहुँदैन ।

५. छालाको लागि पनि हिटरको प्रयोग राम्रो हुँदैन । लामो समय हिटरमा बस्नुले छाला सुख्खा हुन पुग्छ । यसका साथै हिटरले आँखा पनि सुख्खा हुनपुग्छ ।

६. यदि कोठामा हिटर चलिरहेको छ भने समयसमयमा पानी खाइरहुनपर्छ । त्यसका साथै चिया, कफी वा सुप पिइरहनु राम्रो हुन्छ । यसले छाला सुख्खा हुनबाट केही कम गर्न सक्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।