भोली भारतीय सेनाध्यक्ष नेपाल आउँदै, भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ बनाउनेछः प्रबक्ता कुमार

१८ कार्तिक,काठमाण्डौ ।
भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवाणे भोली (बुधबार) नेपाल आउँदैछन् । नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तोमा नेपाल आउँन लागेका हुन् । भ्रमणकाे एक दिन अघि भारतले सेनाध्यक्ष नरवाडेकाे नेपाल भ्रमणले दुई देशका सेनाबीचको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । उनकाे नेपाल भ्रमणको पूर्वसन्ध्यामा काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता नविन कुमारले जनरल नरवणेको प्रमुखले दुई देशका सेनाबीचको लामो र परम्परागत मित्रवत सम्बन्धलाई थप सुदृढ बनाउने बताए । साथै उनले भ्रमणले दुई पक्षीय रक्षा साझेदारीका क्षेत्रका विषयमा छलफल गर्न अवसर प्रदान गर्ने र आपसी हितका लागि त्यसलाई थप सुदृढ बनाउन नयाँ अवसरहरुको ढोका खोल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

नरवणेले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन् । दुई देशबीच एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने परम्परा रहँदै आएको छ । सोही परम्पराअनुसार प्रधानसेनापति थापाको औपचारिक निम्तोमा नरवणे नेपाल आउन लागेका हुन् ।

कालपानीलगायतका सीमा विवादका कारण विगत केही महिनादेखि काठमाडौं र नयाँदिल्लीबीच राजनीतिक तहमा हार्दिक सम्बन्ध कायम नरहेका बेला नरवणेको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । गत वैशाखमा भारतले एकतर्फी ढंगले चीनको मानसरोवर जोड्ने पिथौरागढ–लिपुलेक सडकखण्डको उद्घाटन गरेयता दुई देशबीचको तिक्ततापूर्ण रहँदै आएको छ । भारतले उक्त सडक आफ्नो भूमिमा निर्माण गरेको भन्दै नेपालले औपचारिक रुपमै विरोध जनाएको थियो ।

नेपालका तर्फबाट जनाइएको उक्त विरोधका पछाडि विदेशी शक्तिको हात रहेको अभिव्यक्ति दिएपछि नरवणेको चर्को आलोचना भएको थियो । त्यसपछि नरवणेले आफ्नो अघिल्लो अभिव्यक्तिलाई सच्चाउँदै नेपाल र भारतबीच घनिष्ट सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने बताएका थिए । तर, त्यसपछि पनि सीमा विवादलाई लिएर दुई देशबीच सम्बन्ध सुमधुर बन्न सकेको छैन ।

चार दिने भ्रमण परम्पराको निरन्तरता भएकाे भने पनि यसले दुई देशबीच राजनीतिक संवाद बढाउन सहज वातावरण निर्माणमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ । नेपाली सेनाले अघिल्लो साता सार्वजनिक गरेको नरवणेको भ्रमण तालिकाका अनुसार काठमाडौंमा रहँदा रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट्ने कार्यक्रम रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।