वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनीत

१ आश्विन,काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त रहेको एक सदस्यमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको स्रोतले बताएको छ । भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । २०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका गौतम पटकपटकको प्रयासपछि राष्ट्रियसभा सदस्य बन्‍न सफल भएका हुन् । राष्ट्रिय सभामा ६ महिनादेखि खाली रहेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने एक जना सदस्यमा मन्त्रिपरिषदले वामदेव गौतमलाई सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय गरेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।