नेपाल सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गुल्मीमा कोभिड–१९परीक्षण प्रयोगशालाको उद्घाटन गर्नुभएको छ।
बिहिबार रेसुङ्गा नगरपालिका–९उपल्लो तम्घासमा कोरोना भाइरस परीक्षण प्रयोगशालाको उद्घाटन गर्नुभएको हो।
प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कोरोना भाइरस परीक्षणको दर बाउनुपर्ने बताउनुभएको छ। उहाँले कोरोना भाइरस संक्रमण समुदायस्तरमा पुग्न बाट रोक्नका लागि परिक्षण दरलाई बढाएर लैजान आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यस अवसरमा उहाँले सरकारले निर्देश गरेका स्वास्थ्य सुरक्षा मापदण्डका उपाय अपनाउन नागरिकहरुमा आग्रह गर्नुभयो। कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा गम्भिर प्रभाव पारेको बताउनुभयो। उहाँले स्वास्थ्य संकट र आर्थिक संकटलाई सन्तुलन मिलाएर अगाडि बढ्नुपर्ने कठिन घडिमा रहेको बताउँदै यस्तो अवस्थामा राजनैतिक दाउपेचको ख्याल राख्न नहुने बताउनुभयो।
कोभिड–१९ विरुद्धको लडाई सरकारको मात्र नभई प्रत्येक नागरिकलाई कोभिड–१९ विरुद्धको लडाईमा लाग्न आग्रह गर्नुभयो। कोरोनाले गम्भिर धक्का दिएको बताउँदै पुरानै लयमा जनजीवन फर्काउन देशलाई आत्मविश्वासको खाँचो रहेको उल्लेख गर्नुभयो।
प्रदेश पाँचका सभासद् कमलराज श्रेष्ठले जिल्लामै कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालन हुनु जिल्लाका लागि गौरवको बिषय भएको उल्लेख गर्नुभयो। रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पीसीआर प्रयोगशाला सञ्चालनका लागि परराष्ट्रमन्त्री ज्ञवालीको सहयोगमा करिब एक करोड मुल्य बराबरका सामान निःशुल्क प्राप्त भएको जानकारी दिनुभयो।
त्यस बाहेक करिब ९० लाख रुपैँया खर्च भइसकेको बताउनुभयो। पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनका लागि आवश्यक पर्ने आवश्यक सामग्री तथा विभिन्न सामान खरिद रजडानका लागि ५५ लाख, फर्निचर, आवास लगायतको व्यवस्थापनका लागि १० लाख खर्च भएको उहाँले जानकारी दिनुभयो। तम्घास अस्पतालका मेडिकल सुपरिटेण्ड डा.उत्तम पच्याले परिक्षण प्रयोगशाला उद्घाटन गरिए पनि सञ्चालनका लागि धेरै चुनौतीहरु रहेको पनि उल्लेख गर्नुभएको छ।
उहाँले जिल्लाका पालिका, सरोकारवाला निकाय, राजनैतिक दलका प्रमुखहरु बीचको समन्व्य बिना प्रयोगशाला सञ्चालनमा कठिनाई हुने उल्लेख गर्नुभयो। यो प्रयोगशालाबाट गुल्मीसँगै छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ्ग लगायतका नागरिकहरु लाभाविंत हुने छन्। ।







