१६ भाद्र,तुल्सीराम भण्डारी ।
बुटवलमा थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका २४ जनाको स्वाब संकलन गरेर पीसीआरका लागि पठाइएकोमा १९ जनाको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको र बाँकीको रिपोर्ट नआईसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए । उनीहरु सबै पुरुष हुन् ।
लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टअनुसार संक्रमण देखिनेहरु प्रहरी जवानदेखि अधिकृतसम्मका रहेका छन्। प्रहरी कार्यालयका अरु ६ जनामा लक्षण देखिएपछि उनीहरुलाई क्वारेन्टिनमा राखिएको उनले बताए। संक्रमण देखिएकाहरु बुटवल उपमहानगरपालिकाको कोरिया नेपाल टेक्निकल इन्स्टिच्युटको आइसोलेशनमा छन् ।
१५० भन्दा बढी प्रहरी रहेको इलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ। यसअघि १० भदौमा १५ थुनुवा र ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमबार थप ११ जनामा कोरोना पुष्टि भएको हो । अरु केही प्रहरीमा पनि कोरोना भाइरसको संक्रमणपछि देखिने लक्षण देखिएका छन् ।







