भदौ १६ देखि एक महिना ६० नियमित उडान हुदै (तालिका सहित)

१० भाद्र,काठमाण्डौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १६ गतेदेखि एक महिनाको लागि नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । सेप्टेम्बर २ देखि सुरु हुने उडान ३० सेप्टेम्बर सम्म चल्नेछ । जसमा ६० नियमित र २७ वटा चार्टड उडान हुने भएको हो । मन्त्रालयका अनुसार नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किसएयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । अर्को हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ ।यो एक महिनाको अवधिमा १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्ने छन् । सरकारले सहजै रुपमा कोरोना परिक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्त सहित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । त्यसका साथै सरकारले दैनिक ५ सयसम्म मात्रै यात्रु ल्याउन दिने कोटा तोकेको छ । सोहि कारण पनि अहिले सार्वजनिक भएको तालिका हेरफेर हुन सक्ने मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयले मंगलबारै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई कोभिड–१९ को माहामारी कायमै भएका बेला सरकारले तोकेका नियम तथा शर्तहरु पालना गराउँदै उडान गराउन निर्देशन दिएको छ । त्यसैगरी मन्त्रालयले कोभिड–१९ को जाँच सहज नभएका मुलुकबाट नियमित उडान खुला गरेको छैन । तर, ती मुलुकमा अलपत्र परेका नेपाली ल्याउन एक महिनामा २७ वटा चार्टर उडान गर्न अनुमति दिएको छ । चार्टर उडान हुने गन्तव्यमा माल्दिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम र रियाद छन् । यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर, र सलाम एयरले चार्टर उडान गर्ने छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।