निर्मलालाई न्याय दिलाउन ‘डिजिटल आन्दोलन’ चर्कदै

१ भाद्र,काठमाण्डौ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै नेपालमा फेरि एक पटक ‘डिजिटल आन्दोलन’ अभियान चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न पार्टीका शिर्ष नेताको फेसबुक प्रोफाइलमा निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नयाँ अभियान थालेका हुन् । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले शनिबार साँझदेखि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका फेसबुकको तस्बिरमा निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट गर्ने अभियान चलाएका हुन् । अहिले केहि राष्ट्रिय मिडियाको प्रोफालमा समेत कमेन्ट सुरु गरिएको छ । करिब २ वर्ष अघि कञ्चनपुरमा बलात्कार पछी हत्या भएको पन्तको हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । शीर्ष नेताहरुको तस्बिरमा अधिकांशले निर्मला पन्तको न्यायको माग गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीको तस्विरमा अजय अनमोल नाम गरेका फेसबुक प्रयोगकर्ता लेख्छन्, सरकार भेटियो ! न्याय भेटिएन ! जनता लुट्ने भ्रष्टाचारी भेटिए कारबाही गर्ने क्षमता प्रधानमन्त्रीमा भेटिएन !
नेपाल प्रहरीको फेसबुक पेजमा पनि निर्मलाको न्यायको लागि कमेन्ट गरिएका छन् । प्रहरीले २२ घण्टा अघि राखेको एक सूचनाको कमेन्टमा निर्मलाको न्यायको लागि २ हजार ७ सय कमेन्ट गरिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।