मेलम्ची पहिरो: ५ शव निकालियो, दुई जनाको पहिचान

१९ साउन,काठमाण्डौ ।
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ । जसमध्ये दुई जनाको मात्र पहिचान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ ।उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । उनीहरु बस्दै आएको टहरोलाई गएराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो ।प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो ।

डीएसपी काफ्लेका अनुसार उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । थप उपचारका लागि धुलिखेल लैजाने तयारी गरिए पनि बाटो अवरुद्ध भएकाले लैजान नसकिएको उनले बताए ।
अर्का एक भारतीय नागरिक राजेन्द्र चौरसिया पनि पहिरोमा पुरिएका छन् । भारतीय नागरिकहरुको ठेगाना खुलेको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।