५ साउन,काठमाण्डौ ।
नेपाल सरकारले चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किएका छन् । सरकारको अनुमानमा अझै ५० हजार नेपाली स्वदेश फर्काइहाल्नुपर्ने अवस्थामा छन् ।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई चार्टर्ड उडानको जिम्मा दिइएको छ । केही दूतावासहरुले सम्बन्धित देशको विमानमार्फत पनि नेपालीलाई फर्काएका छन् भने कुवेतले आफ्नै खर्चमा
जजिरा एयरलाइन्समार्फत आममाफी पाएर क्याम्पमा बसिरहेका नेपाली श्रमिक फर्काइरहेको छ ।अहिलेसम्म करिब २९ हजार नेपाली आफ्नै खर्चमा स्वदेश फर्किएका हुन् भने कुवेतले २ हजारभन्दा बढी नेपालीलाई उसकै खर्चमा फिर्ता ल्याइदिएको छ । सरकारले जेठ २३ गतेबाट ‘उद्धार उडान’ सुरु गरेको थियो ।
सरकारी तथ्यांकअनुसार १९९ वटा फ्लाइटबाट ३० हजार ९४० नेपाली स्वदेश फर्किएका छन् । सबैभन्दा धेरै यूएईबाट नेपाली फर्किरहेको देखिन्छ । शनिबारसम्म ७ हजार १९६ जना नेपाली यूएईबाट फिर्ता भएका छन् ।
कुवेतबाट ५ हजार ५४९ जना र साउदी अरेबियाबाट ५ हजार ५५ जना फर्किसकेका छन् । कतारबाट ३ हजार ३२९ र मलेसियाबाट ३ हजार २ सय २६ नेपाली स्वदेश आएका छन् ।
बहराइनबाट ९८०, बंगलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अष्ट्रेलियाबाट ६३४ जना नेपाली चार्टर्ड उडानको टिकट काटेर फर्किएका छन् ।
ओमानबाट ४९२, दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३, थाइल्यान्डबाट ३२६, बेलायतबाट २२९ जना नेपाली स्वदेश फिर्ता भएका छन् ।यस्तै सिंगापुरबाट १४६, इजरायलबाट १२७, फिलिपिन्सबाट १०८ र चीनबाट १०५ जनालाई फर्काइएको छ । अफगानिस्तान, म्यान्मार, श्रीलंका, हङकङ, पाकिस्तान र टर्कीबाट पनि नेपालीहरु फर्किएका छन् । photo : Google







