१३ असार,चितवन ।
सरकारी सम्पत्तिको दुरुपयोग गर्दै पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कँडेल शनिबार बिहे भोजमा पुगेकी छिन् । कार्यालयको कामका लागि कँडेलले प्रयोग गर्दै आएको बा २ झ १३४९ नम्बरको टाटा सुमो चढेर उपप्रमुख कँडेल बिहे भोजमा पुगेकी हुन् । लकडाउनको समयमा सरकारले बिहेमा हुने सहभागीको संख्या र भोजमा समेत कडाइ गरेको अवस्थामा
कँडेल भने सरकारी गाडी चढेरै बिहेको भोजमा गएकी हुन् । कुनै पनि विवाह उत्सव वा सांस्कृतिक कार्यक्रममा २५ जना भन्दा बढी उपस्थित हुन नपाउने सरकारी निर्देशन छ । तर, सरकारी निर्देशनलाई बेवास्ता गर्दै कतिपयले भने भव्य बिहे भोजको आयोजना गरिरहेका भेटिन्छन् ।
अचम्मको कुरा त के छ भने स्थानीय जनप्रतिनिधि आफैँ शनिबारको दिन समेत सरकारी गाडी चढेर बिहेभोजमा पुगिन् । यो लकडाउनको समयमा सरकारी साधनस्रोत र निर्देशनको चरम दुरुपयोग थियो । कार्यालय प्रयोजनका लागि प्रदान गरिएको सरकारी सवारी साधन बिहे भोजमा प्रयोग गरेपछि उप प्रमुख कडेल विवादमा तानिएकी हुन् ।







