२१ बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरस बाट ७५ जना संक्रमित रहेको पुष्टी भइसकेको छ ।आईतबार राती सम्ममा देशभर १६ जना नयाँ संक्रमित पुष्टी भएपछि पछिल्लो २४ घण्टामा नयाँ संक्रमित पुष्टी भएको छैन ।नेपालमा अहिले सम्म १६ जना निको भएर घर फर्किसकेका छन् । तर,यसै साता देखि घर फर्केकाहरु पुन: अस्पताल फर्कन थालेका छन् । आईतबार मात्र वीरगंजका एक युबा अस्पताल भर्ना भए
। घर गएकाहरु अस्पताल फर्कनेहरु अहिले सम्म करिब आधा दर्जन पुगेसकेका छन् ।सोमबार बाग्लुङकी ६५ बर्षीया मनकुमारी पौडेल पनि अस्पताल फर्किएकी छिन् । उनी कोरोना संक्रमित मध्येकी छैठौ र निको हुने मध्येकी दोस्रो कोरोना पुर्बसंक्रमित हुन् । पौडेल सोमबार स्वास्थ्यमा समस्या आएपछि धौलागिरी अञ्चल अस्पताल फर्किएकी हुन् ।
मनकुमारीलाई अचानक अस्पतालमा देख्दा स्वास्थ्यकर्मी समेत चकित परेको स्रोतले बतायो । वृद्धावस्थामा पनि कोरोना जितेर अस्पतालबाट भव्य बिदाइ गरिए पनि १९ दिनपछि अस्पताल आउँदा आफूलाई पहिलेकै जस्तो फरक व्यवहारको अनुभूति भएको मनकुमारीले बताइन् । ‘डाक्टरले नै बोलाएको हुनाले घरबाट बुहारीलाई लिएर अस्पताल पुगेकी थिए’, उनले भनिन्, ‘कोरोना लागेको भनेर मलाई त्यहाँ कतै बस्दा पनि समस्या, उठेर यता उता गर्दा पनि समस्या भए जस्तो बुहारीमार्फत कुरा आएको रहेछ, यसलाई ठुलो रुपमा नलिए पनि मन केही खिन्न भने बनायो ।’
बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया पौडेललाई गत चैत्र १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएका उनी वैशाख ६ गते निको हुँदै डिस्चार्ज भएकी थिइन् । अस्पतालको आइशोलेसन वार्डबाट डिस्चार्ज गरिए पनि होम क्वारेन्टाइनमै बस्न सुझाव दिइएको थियो ।
दम र प्रेसरको समस्याबाट ग्रसित उनमा सुगरको समेत संकेत देखिए पछि फलोअपका लागि बोलाइएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए । ‘सुगर र प्रेसर जाँचकै लागि अस्पतालबाट बोलाएर आउनुभएको हो’, गौतमले भने, ‘तर अस्पताल परिसरमा ठूलै संख्यामा सेवाग्राही भएकाले केही भयको अवस्था बन्यो, त्यो पुरानो संक्रमितको मनोविज्ञानसँग जोडेर हो ।’
धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले पूर्व संक्रमित मनकुमारीको अवस्था सामान्य रहेको बताए । ‘पहिलेकै उपचारका क्रममा सुगरको आंशका भएकाले चेकअपका लागि बोलाइएको हो, अहिले सुगर बढ्न लागेकाले औषधि दिएर पठाएका छौँ,’ डा.पोखरेलले भने, ‘डिस्चार्ज भएर जाँदा दुई साता होम क्वारेन्टाइनमै बस्न भनेका थियौँ, अझै केहि दिन सचेतता अपनाउनुस् भनेका छौँ ।’







