१६ बैशाख,चितवन ।
चितवनको भरतपुर स्थित कोरोना अस्पतालमा सामान चोरी सिसिटिभि फुटेजको भिडियो सार्बजनिक भएपछि यसको चौतर्फी रुपमा आलोचना भैइरहेका बेला कोरोना नियन्त्रण कार्यदल भरतपुरले भने चोरी नभएको दाबी सहितको प्रेस बिज्ञप्ती जारी गरेको छ ।कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले मंगलबार कार्यदलको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै सामान चोरी नभई
स्टोरमा सारीएको दावी गरेका हुन् । सार्बजनिक भिडियोमा पंखा लगायतका सामान स्टोर बाट प्याक गरिएको छ । कर्मचारीले चप्पल समेत झिकेर खुट्टामा नापेका छन् । भिडियो हेर्दा सामान्य रुपमै चोरेको बुझ्न सकिन्छ । जारी विज्ञप्तिमा भनिएको छ, अस्पतालसंग सम्बन्धित केही सञ्चार माध्यममा आएको र सिसीटिभी क्यामराको फुटेज भनी प्रसारित सामग्री सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको छ । कोरोना नियन्त्रण कार्यदलले खरिद गरेको र विभिन्न संघसंस्थाबाट सहयोगार्थ प्राप्त सबै सामग्रीको दाखिला प्रमाण, बिल र वितरणको विवरण साथै बाँकी बक्यौता सामग्रीको लगत सही सलामत नै राखिएको छ ।
कोरोना नियन्त्रण कार्यदलको स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै हलमा रहेकोले कोरोना नियन्त्रण कार्यदलको स्टोर फरक ठाउँमा व्यवस्थित गरिएको उक्त विज्ञप्तिमा जनाइएको छ । कार्यदलका सामग्री ओसारपसार, स्टोर गर्ने समय प्रक्रियाको सिसिटिभी फूटेज लिक भएकोप्रति कार्यदल गम्भीर भएको जनाउँदै विज्ञप्तिमा अगाडि भनिएको छ, सोमबारको बैठकबाट चितवन उद्योग संघका अध्यक्ष तथा कार्यदल सदस्य राजु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिसकिएको जानकारी गराउँदै टोलीको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्ने र तत्पश्चात सत्यतथ्य सार्वजनिक गरिने बताएको छ ।







