ट्रम्पको दाबी:कोरोनाले मृत्यु हुनेमा पहिलो नम्बरमा चीन,अमेरिकाको मृत्यु संख्या केहि होईन

१९ अप्रिल,एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण सबैभन्दा धेरै चीनमा मृत्यु भएको दाबी गर्दै अमेरिका त चीनको छेउछाउ पनि नभएको दाबी गरेका छन् । ह्वाइट हाउसमा कोरोना भाइरसको महामारीबारे हुने दैनिक पत्रकार सम्मेलनको शनिबारको आयोजनामा अमेरिकी राष्ट्रपतिले यस्तो दाबी गरेका हुन् । यसबारे उनले भने, ‘कोरोना भाइरसका कारण भएको मृत्युको मामलामा अमेरिका पहिलो नम्बरमा होइन ।पहिलो नम्बरमा चीन छ । हामी त उसको छेउछाउ पनि छैनौं । यो मलाई पनि थाहा छ र उनीहरुलाई पनि थाहा छ ।’उनले अन्य देशमा भइरहेको मृत्युको आँकडाबारे पनि उक्त पत्रकार सम्मेलनमा कुराकानी गरे । उनका अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण भइरहेको मृत्युदर युरोपको देशभन्दा कम छ । ट्रम्पले भने, ‘जर्मनीको यो मामलामा अपवाद हो । ब्रिटेन, स्विटजरल्याण्ड, बेल्जियम र फ्रान्सको तुलनामा अमेरिकामा कोरोनाका कारण भएको मृत्युदर कम छ । स्पेनको मृत्युदर त अमेरिकाभन्दा चार गुणा बढी छ ।’ट्रम्पले यसअघि पनि चीनमा कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु भएको दाबी गर्दै चीनले मृतकको आँकडा लुकाएको आरोप पनि लगाउँदै आएका छन् । अमेरिकामा अहिले सम्म ७ लाख ३८ हजार ८ सय ३० संक्रमित पुष्टी भएको छ भने ३९ हजार १४ जनाको मृत्यु भैइसकेको छ । अमेरिकामा ६८ हजार २ सय ८५ निको भएका छन भने ६ लाख ३१ हजार ५ सय ३१ केस सकृय छ । यस मध्ये १३ हजार ५ सय ५१ जना खतरायुक्त अबस्थामा छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।