१९ चैत्र,काठमाण्डौ ।
बुटवलको धागो कारखानामा रहेको कोरोना अस्पतालको आइसोलेसनमा गत १६ चैतमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव चार दिन बितिसक्दा पनि उठ्न सकेको छैन् । मृत्युको यथार्थ रिपोर्ट अस्पतालले दिनुपर्ने र क्षतिपुर्ति समेत सरकारले दिनुपर्ने माग राख्दै परिवारले बाबुरामको शव नउठाएका हुन् । मृतक युबा गत ६ चैतमा दुबईबाट नेपाल आएका थिए ।
उनी काठमाण्डौ बाट बसमा रुपन्देही घर गएका थिए । उनलाई हल्का ज्वरो देखिएको थियो । ५ बर्षपछि घर आएका उनी चैत १३ गते अटो रिक्सा रिजर्भ गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा ज्वरो जाँचका लागि आएका थिए । तर, त्यहाँ उपचारमा खटिएका स्वास्थ्यकर्मीले आइसोलेसनमा राखेर उपचार गर्ने भन्दै धागो कारखानामा रहेको अस्थायी कोरोना अस्पतालमा पठाएका थिए । तर, तीन दिनपछि गत आइतबार दिउँसो उनको मृत्यु भएको थियो ।
मृतक थापाकी श्रीमती रिता थापाले कोरोनो नेगेटिभ भए मृत्युको यथार्थ रिपोर्ट डाक्टरले दिनुपर्ने बताइन् । उनले श्रीमान् हिँड्दै अस्पतालमा पुगेको र अर्को दिनसम्म फोन सम्पर्क समेत भएको अवस्थामा डाक्टरले अर्को दिन मृत्यु भयो भन्नु अस्पतालको गम्भीर लापरबाही भएको बताइन् । मृतक थापाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । यता लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुर्दशन थापाले बाबुरामको मृत्यु निमोनियाले भएको रिपोर्ट आएको बताएका छन् ।








