१७ फाल्गुण,काठमाण्डौ ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले ‘हिन्दु महासभा’ को घोषणा गर्ने भएको छ । मोर्चाले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको हो ।
कार्यक्रम फागुन १८ गते दिनको १२ बजे राष्ट्रियसभा गृहमा कार्यक्रमको आयोजना गरिएकोे छ । मोर्चाका महामन्त्री रोहित पौडेलले अहिले नेपालीहरु संकटको घडीमा रहेको बताएका छन् ।
अर्थतन्त्र, सामाजिक सद्भाव र अन्तराष्ट्रिय चलखेलका हिसाबले अहिले देश संकटमा रहेको उनको दाबी छ ।राजासहितको सनातन हिन्दु राज्य कायम हुनुपर्ने मान्यताका साथ आफूहरु नेपालीहरु माँझ आउन लागेको उनले बताए ।
‘नेपालको इतिहासमै आजसम्म सबैभन्दा बढी हामी संकटको घडीमा उभिरहेका छौं । हामीहरु यो संकटबाट यो देशलाई मोचन गर्न चाहन्छौं ।
जसका लागि हामीले भोलि दिनको १२ बजे नेपाल हिन्दु महासभा घोषणा गर्न गइरहेका छौं । धर्मभनेको जीवनज्यूने कलाहो, संस्कार हो, पद्धतीहो र सभ्यता हो ।यही संस्कार, सभ्यता र संस्कृति भित्रै रहेर राजासहितको हिन्दुराष्ट्र कायम हुनपर्छ भन्ने मान्यताका साथ हामी नेपाली जनताका बीचमा आएका छौं,’–उनले भने ।
यो कार्यक्रम नेपालको इतिहासमै कोशे ढुङ्गाको रुपमा सवित हुने उनको दाबी छ । सह–अध्यक्ष वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले नेपाललाई संवैधानिक राज संस्था सहितको हिन्दु राज्य, अखण्ड नेपाल बनाउने अभियानमा सामेल भएको बताए ।
साथै, समान विचार र धारणा भएका संघ–संस्थाहरुसँग सहकार्यका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा सकारात्मक रहेको बताए । समान विचार धारा राख्ने भारतीय संस्था अखिल भारत हिन्दु महासभाको आमन्त्रणामा आफ्नो संस्थाका प्रतिनिधि भारतमा भएको कार्यक्रममा सहभागी भएकोसमेत उनले स्मरण गरे ।
भोलि हुन गइरहेको कार्यक्रममा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा र अखिल भारतीय हिन्दु महासभाबीच सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको पनिउनले जानकारी गराए ।
‘हामीले हाम्रा विचार मिल्ने राष्ट्रिय, अन्तराष्ट्रिय शक्तिसँग सहकार्य गर्ने प्रयत्न गरिरहेका छौं । यो कामका लागि भोलि हस्ताक्षर गर्दैछौं ।अहिले नेपालको हिन्दुराज्य र राज संस्थाको पहिचानलाई किन अन्त्य गर्नुपथ्र्यो ? अहिले भर्खरै नेपालको परराष्ट्रमन्त्री जेनेभाको मानव अधिकार सम्मेलनमा जान लागि राख्दा राजनीतिक परिवर्तनका कारणले उहाँहरुले जसरी रोक्नुभयो त्यो आफ्नो ठाउँमा छ ।
सत्ता परिवर्तन हुने वित्तिकै नेपालले परराष्ट्रमन्त्रीलाई जानबाट रोक्यो र एक जना त्यससँग ज्ञाता हो भनेर पठाइयो । जसले गर्दा नेपालको छविमा प्रतिकूल असर पर्यो,’– उनले भने ।
सरकारको उक्त कदम नेपालको समप्रभुता र स्वाधिनताको विरुद्धमा भएको उनले बताए । मुलुकको बेइज्जत गर्ने काम दिल्लीमा भएको १२ बुँदे सम्झौताबाटै भएको उनको आरोप छ ।
नेपालको राष्ट्रियता, स्वाधिनता, समप्रभुता र धर्म संस्कृतिको रक्षाका लागि आफूहरु लागि परेको उनको दाबी छ ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष एवं कार्यक्रमका सभापति तारानाथ लुँइटेलले आन्दोलनका बेला मुलुकलाई जापन र स्वीजरल्याण्ड बनाउँछौं भन्ने दलहरुले अहिले आन्दोलन नसकिँदै स्वीस बैंकमा पैसा राखेको आरोप लगाए ।
अहिले राजा महाराजाले यही मुलुकमा बसेर उपचार गरिरहेको अवस्थामा नेताहरुको उपचारमा धेरै रकम विदेशमा खर्च गर्नुपरेको उनले दुःखेसो पोखे । राजा रहँदा प्रतिव्यक्ति सात हजार ऋण रहेकामा नेताहरुले त्यसलाई बढाएर ८० हजार भन्दा माथि पुर्याएको उनको आरोप छ ।
आफूहरुले नेपालमा हिन्दुराष्ट्र र संवैधानिक राज संस्थाकायम गराउन अखिल भारतीय हिन्दु महासभासँग सहकार्य गर्न तयार रहेको उनले बताए ।
राजा वीरेन्द्रलाई कसले मारेको भन्ने बारेमा कुनै खोज नगरी ज्ञानेन्द्रलाई त्यसको आरोप लगाएको उनले बताए ।
आफूहरुको आन्दोलन नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र कायम नभएसम्म निरन्तर रहने उनको दाबी छ ।
वरिष्ठ उपाध्यक्ष देवराज आचार्यले अब देशमा परिवर्तनको घडी आएको दाबी गरे । विदेशीको डिजाइनबाट हिन्दु अधिराज्यको अन्त्य गराइएको उनको आरोप छ ।








