फाल्गुण १४ आइतबार | (रासस/सिन्ह्वा)
कोलम्बो, श्रीलङ्काले यहाँ आउने पर्यटकको सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । सोसम्बन्धी एप आगामी मार्च १ देखि लागू गरिने भएको यहाँका पर्यटनमन्त्रीले जानकारी दिनुभएको हो ।
श्रीलङ्काका पर्यटनमन्त्री हरिन फर्नान्डोले शनिबार श्रीलङ्काको राजधानी कोलम्बोमा आयोजना भएको पर्यटनसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
उहाँले सो मोबाइल एपमा सात भाषाको प्रयोग गरिने भएको र त्यसलाई सबै नागरिकले पनि प्रयोगमा ल्याउन सकिने गरी निर्माण गरिएको पनि जानकारी दनुभयो ।पछिल्लो समयमा श्रीलङ्कामा पर्यटकमाथि पनि आक्रमण हुने गरेको भन्ने सूचनाका कारण उनीहरुको सुरक्षा कै लागि यो एप बनाइएको पनि जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
पर्यटकले कुनै घटना अर्थात् आफू असुरक्षित रहेका विषयमा जानकारी गराउना साथ यहाँका अधिकारीले सो एप हेर्न सक्ने गरी सो एप निर्माण गरिएको बताइएको छ ।
सो सूचना प्रहरी तथा पर्यटन क्षेत्रका अधिकारी सबैमा जाने र यसै सूचनाका आधारमा ती पर्यटकको उद्धार गर्न सकिने गरी एप निर्माण गरिएको बताइएको छ ।








