फाल्गुण १० बुधबार | पत्रपत्रिका
काठमाडौको शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितविरुद्ध आफ्नै श्रीमतीलाई घरेलु हिंसा गरेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ ।
नापितकी श्रीमती सरिता महर्जनले नगरप्रमुख नापित र उनकी दिदी मिलेर आफूलाई मानसिक यातना दिने गरेको र घरमै बन्धक बनाउने गरेको भन्दै कारबाहीको माग गर्दै महिला आयोगमा उजुरी दिएकी हुन् । उनले आयोगमा दिएको उजुरीमा न्यायको याचना गरेकी छन् ।
आफ्नै श्रीमतीले दिइन् महिला आयोगमा उजुरी
महिला आयोगले पनि सो उजुरीलाई उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाउने बताएको छ । महिला आयोगले उजुरीका ’boutमा थप अध्ययन थालिएको र आवश्यक कारबाही गरिने जनाएको छ ।
नगरप्रमुख नापितकी श्रीमती सरिताले आफ्नो विवाह नापितसँग आठ महिनाअघि भएको र विवाह भएको दुई सातादेखि नै आफूमाथि घरेलु हिंसा सुरु भएको दाबी गरेकी छन् ।
नगरप्रमुख नापित र सरिताबीच २४ असार २०७९ मा गुहेश्वरी मन्दिरमा धार्मिक परम्पराअनुसार विवाह भएको थियो । नगरप्रमुख नापितकी जेठी श्रीमतीको मृत्यु भएकाले उनले सरितासँग दोस्रो विवाह गरेका हुन् । सरिताले अहिले आफूले घरमा कष्टकर जीवन बिताउन बाध्य भइरहेको दाबी गरेकी छन् । उनले महिला आयोगमा दिएको उजुरीअनुसार आमाजू सरस्वती नापित र श्रीमान नगरप्रमुख रमेश नापित मिलेर बारम्बार मानसिक यातना दिने गरेको र घरबाट बाहिर निस्कन नदिने गरेको बताएकी छन् ।
सरिताले श्रीमान्ले आफूलाई श्रीमतीको जस्तो नभएर घरेलु कामदारको जस्तो व्यवहार गर्ने गरेको बताएकी छन् । ‘मलाई श्रीमान् र आमाजु मिलेर चरम मानसिक यातना दिइरहनुभएको छ,’ नगरप्रमुख नापितकी श्रीमती सरिताले राजधानीसँग भनिन्, ‘मलाई उहाँहरूले घरेलु कामदारजस्तो बनाउनुभएको छ, त्यसैले घरमै नारकीय जीवन जिउन बाध्य छु ।’
उनले श्रीमान्ले जहिले पनि अमाजूको कुरा सुनेर आफूमाथि अत्याचार गर्ने गरेको दाबी गरिन् । सधैजसो अमाजूको शरीर र खुट्टा मिच्न लगाउने गरेको, बारम्बार दुव्र्यवहार गर्ने गरेको र सँगै खानबस्न समेत नदिने गरेको उनले बताइन् । ‘घरमै सबै मिलेर मलाई अछूतजस्तो व्यवहार गरिन्छ,’ पीडित सरिताले राजधानीसँग भनिन्, ‘कतै जान पनि दिइन्न, गएमा फर्कन्न दिन्नौं तँ बाहिरै बस्नुपर्छ भनेर धम्की दिने गर्छन् ।’
घरमा श्रीमान् र परिवारका सदस्यले गरेको दुव्र्यवहारले आफू मानसिक रूपमै विक्षिप्त बन्ने गरेको उनको दुखेसो छ । सरिताले महिला आयोगमा दिएको उजुरीमा आफूले भोग्नुपरेका पीडाको फेहरिस्त पेस गरेकी छन् । महिला आयोगका अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको उजुरीमा उनले भनेकी छन्, ‘हजुर पनि एक महिला नै हुनुुहुन्छ, मेरो दुख, पीडा, बुझिदिनुप¥यो, म अन्यायमा परेकी छु, मलाई न्याय दिनुहोस् ।’ मेरो कथा सुरुवात गर्दा हात कामिरहेको छ, मनमुटु भारी भएर आउँछ, आँखाबाट आंशु झरेको झरै छ, कहिले न्याय पाउँला ?’ सरिताले उजुरीमा उल्लेख गरेकी छिन् ।
उनले विवाह भएको आठ महिना भएको र आफूलाई नापित परिवारले पनि आठ महिनादेखि नै निरन्तर दुःख कष्ट दिँदै आएको दाबी गरेकी छन् । आफूलाई नगरप्रमुख नापितले सुखैसुख र मायाप्रेम दिने भन्दै विवाह गरेको तर विवाहलगत्तै विभिन्न बहानामा दुःख कष्ट र पीडा दिने काम गरेको उनको जिकिर छ ।
उनले २९ पुसदेखि आफूलाई राम्ररी खान पनि नदिएको दाबी गरेकी छन् । त्यस दिनदेखि घरमा पूजाकोठामा जान पनि निषेध गरिदिएको उनले बताएकी छन् । ‘मलाई अहिले घरका अन्य सबै कोठामा जान निषेध गरेका छन्, सबै कोठा लक गरदिएका छन् र मेरो कोठाबाट बाहिर निस्कन पनि दिएका छैनन्,’ सरिताले महिला आयोगमा दिएको उजुरीमा भनेकी छन्, ‘बाहिर गएमा गेट नखोल्ने धम्की दिएका छन्, म घरमा जेल जीवन बिताउन बाध्य छु ।’
शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितले भने श्रीमतीले आफूहरूमाथि लगाएको आरोप निराधार र झुठ भएको दाबी गरे । ‘हामीले होइन उनले हामीमाथि आतंक मच्चाएकी छन्,’ नगरप्रमुख नापितले राजधानीसँग भने, ‘उनी अत्यन्तै घमण्डी भएकाले यो सब समस्या आएको हो ।’
नापितले विवाह भएर आएको केही समयमै सरिताले घरमा अन्य सदस्यलाई गाली गलौज गर्ने गरेको र वातावरण बिगार्ने गरेको आरोप लगाए । ‘अहिले पनि उनी (सरिता) हामीसँगै छन्,’ नगरप्रमुख नापितले भने, ‘उनलाई खान नदिएको र बन्धक बनाएको भन्ने सबै झुट हो, आएर जोसुकैले पनि हेर्न सक्छ ।’ राजधानीबाट ।








