सेनेगल अन्तिम १६ मा, इक्वेडर बाहिरियो

१४ मंसिर, दोहा ।
अफ्रिकी राष्ट्र सेनेगल कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा दक्षिण अमेरिकी टोली इक्वेडरलाई पराजित गर्दै सेनेगलले नकआउट चरणमा स्थान बनाएको हो ।दोहाको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको समूह ‘ए’को खेलमा इक्वेडरलाई २–१ गोलले पराजित गर्दै सेनेगलले अन्तिम १६ मा स्थान बनाएको हो । सेनेगललाई दोस्रो पटक नकआउट चरणमा पु¥याउन स्माइला सार र कालिदौ कौलिबलीले एक-एक गोल गरेका थिए । इक्वेडरका मोइसे काइसेडोले एक गोल फर्काए ।
खेलको ४४औं मिनेटमा स्माइलाले पेनाल्टीमा गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाएका थिए । इक्वेडरका एन्जेलो प्रिसेडोले स्माइला सारलाई पेनाल्टी बक्सभित्र फल गरेपछि सेनेगलले पेनाल्टी पाएको थियो । जसलाई स्माइलाले नै सदुपयोग गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६८औं मिनेटमा इक्वेडरले बराबरी गोल फर्काएको थियो । फर्नान्डो टोरेसको पासमा मोइसे काइसेडोले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि ७०औं मिनेटमा कौलीबलीले गोल गर्दै सेनेगललाई दोस्रो पटक नकआउट चरणमा पुर्याए ।

सेनेगल दोस्रो पटक नकआउट चरणमा पुगेको हो । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपमा सेनेगल क्वार्टरफाइनलसम्म पुगेको थियो । क्वार्टरफाइनलमा टर्कीसँग १–० गोलले पराजित भएको सेनेगलले सातौं स्थान हात पारेको थियो ।

अफ्रिकी राष्ट्र सेनेगलको विश्वकपमा चौथो सहभागिता हो । यसअघि सन् १९६६ मा विश्वकपमा छनोट भएर पनि प्रतियोगिताबाट नाम झिकेको थियो । त्यसपछि सन् १९९० को विश्वकपमा छनोट भएको सेनेगलले त्यतिबेला पनि नाम फिर्ता लिएको थियो । त्यसपछि १२ वर्षपछि सन् २००२ मा मैदान फर्किएको सेनेगलले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम आठको यात्रा तय गरेको थियो । सन् २००६, २०१० र सन् २०१४ को विश्वकपमा छनोट हुन नसकेको सेनेगल सन् २०१८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।

सेनेगल उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको हो । सेनेगलले तीन खेलमा दुई जित र एक हारको नतिजासहित ६ अंक जोड्यो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–० गोलको पराजय बेहोरेको हार बेहोरेको सेनेगलले दोस्रो खेलमा आयोजक कतारलाई ३–१ गोलले पराजित गरेको थियो । समूह ‘ए’बाट नेदरल्यान्ड्सले विजेता र सेनेगलले उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाउँदा इक्वेडर र कतार भने समूह चरणबाटै बाहिरिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।