पल प्रकरणः१४ वर्ष कैद सजायको मागदाबी सहित मुद्दा दर्ता

८ चैत्र,काठमाण्डौ ।
नाबालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो ।जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता भएको हो ।

अभिनेता पल शाहसँगै उनका म्यानेजर कृष्ण जोशीमाथि पनि सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ । जोशीले बालिका बलात्कार प्रकरणमा मतियारको भूमिका खेलेको भन्दै उनलाई पलमाथि हुने सजायको आधा सजाय मागदाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।