सर्वोच्चबाट बाहिरिए जबरा, दीपककुमार कार्की कामुप्रधानन्यायाधीश

१ फाल्गुन,काठमाण्डौ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सर्वोच्च अदालतबाट बाहिरिएका छन् । महाअभियोग लागेको पत्र बुझेर उनी सर्वोच्च अदालतबाट बाहिरिएका हुन् । सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आज संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् गराएको थियो । जबरा घर फर्किंदा उनी चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा भने छोपिएको थियो । प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए । महाअभियोग प्रस्ताव दर्तासँगै उनी प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन् । जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बित हुने हुँदा कार्की पनि स्वतः कामुप्रधानन्याधीश बनेका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्यायपरिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिकामा रहने छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।