२१ पौष,काठमाण्डौ ।
पूर्वमन्त्री योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त हुनु अगाडी नै नारायणहिटी दरबार संग्राहलयमा कफी हाउस बनिसकेको बताएका छन्। उनले नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बनाइरहेको बतास समूहसँग संलग्नता रहेको भए सत्य तथ्य र हस्ताक्षर सहितको निर्णय कपी वा लिखित निर्देशन पत्र सार्वजनिक गर्न चुनौती पनि दिएका छन्।
उनले आफू मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको उल्लेख गरेका छन्। कफी हाउस बनाउने निर्णयमा कसको हस्ताक्षर छ भन्ने उनले खुलाएका छैनन्। नारायणहिटी संग्राहलयले मंगलबार मात्रै नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बनाइरहेको बतास समूहलाई निर्माण काम रोक्न निर्देशन दिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि
नारायणहिटी दरबार समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिएको दरबार संग्राहलयका कार्यकारी निर्देशक भेषराज दाहालले जानकारी दिए।काम रोक्न निर्देशन दिएकै दिन पूर्व पर्यटन मन्त्री भट्टराईले कफी हाउस बनिसकेको लेखेका हुन्।
समितिले सङ्ग्रहालयका १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्त्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा नारायणहिटी दरबार संग्राहालयका बारेमा कुनै पनि निर्णयमा आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन्।







