३ साउन,काठमाण्डौ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले संसदीय राजनीतिमा विकृति दोहोरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावबारे पार्टीका तर्फबाट धारणा राख्दै उनले विगतमा पनि नेपाली कांग्रेस र एमालेका आफ्नै सांसद्ले मत नदिँदा ती पार्टी नेतृत्वका सरकार ढलेर संसदीय
राजनीतिमा विकृति भित्रिएको स्मरण गरे । “प्रश्न को सरकारमा गयो वा गएन भन्नेमा होइन, प्रश्न संसदीय प्रणाली बलियो भयो कि भएन भन्ने हो । सही खेल भयो कि भएन भन्ने हो”, एमालेका प्रवक्ता ज्ञवालीले भने । उनले भन्नुभयो, “विसं २०५२ मा प्रधानमन्त्री मनमोहन अधिकारी घाइते भएका बेला सदनमा आएर अविश्वासको प्रस्तावमाथि जवाफसमेत दिन नपाई हटाइएको थियो ।”
उनले आफ्नो पार्टीलाई अप्रिय लागे पनि अदालतको फैसला आफूहरूले मान्ने तर शक्ति पृथकीकरणको राज्यको परिकल्पनामा खलल पर्न गएको टिप्पणी गरे । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राष्ट्रियता, शान्तिपूर्ण राजनीतिको यात्राको थालनी, विकास र समृद्धिका क्षेत्रमा गरेका कामलाई जनताले सम्झिइरहने ज्ञवालीले विस्वास व्यक्त गरे ।
उनले पहिला देउवा श्री पाँचबाट प्रधानमन्त्री भएको र अहिले श्रीमान् पाँचबाट प्रधानमन्त्री भएको व्यग्य गरे । ज्ञवालीले माओबादीका बिषयमा बोलेपछि माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसको प्रतिबाद गरे ।







