नेपाललाई चीनले थप १६ लाख डोज कोरोना बिरुद्दको खोप दिने

१ साउन,काठमाण्डौ ।
चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने भएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा खोप उपलब्ध गराउने जानकारी दिएकी हुन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै राजदूत यान्छीले प्रधानमन्त्री देउवासँगको भेटमा खोप उपलब्ध गराउने जानकारी दिएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ महामारीविरुद्धको लडाइँमा नेपाललाई चीनको निरन्तर सहयोग रहने छ । राजदूत यान्छीले प्रधानमन्त्रीसँग नेपाललाई चीनले थप १६ लाख डोज कोभिडविरुद्ध खोप दिने निर्णय भएको जानकारी गराउनुभएको छ ।’ चिनियाँ सहयोगका लागि प्रधानमन्त्री देउवाले राजदूत यान्छीमार्फत् चीन सरकारलाई धन्यवाद समेत दिएका छन्।

चीन सरकारले यसअघि दुई पटक गरी १८ लाख डोज खोप अनुदानमै दिएको थियो । सरकारले चीनसँग थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ। सम्झौता अनुसार आठ लाख डोज खोप चीनबाट आइसकेको छ। देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले चैतसम्ममा सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।