चरित्र हत्या गरेको भन्दै रुपा सुनारले दिईन् प्रेस काउन्सिलमा उजुरी

१२ असार,काठमाण्डौ ।
आफुलाई गायिका तथा पत्रकार बताउने रुपा सुनारले आफ्नो चरित्र हत्या गर्ने ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । ती अनलाइन पोर्टलहरुले विभिन्न जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्याएको र आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै साइबर अपराधअन्तर्गत कारबाहीका लागि प्रेस काउन्सिलमा उनले उजुरी दिएकी छन् ।जातीय दूव्र्यवहार भए पछि विरोधमा उत्रिदा उनीमाथि ती अनलाइनहरुले कसैबाट परिचालन भएको भन्दै भ्रामक समाचार लेखेको उनले भनेकी छन् । नेपाल पाना अनलाइनले उनीमाथि युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपैयाँ खाएको आरोप लगाएको छ । रुपाले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित उजुरी दिएका हुन् ।काठमाडौंको बबरमहलमा भाडामा बस्नका लागि कोठा खोज्ने क्रममा उनीमाथि घरबेटी सरस्वती प्रधानले जातीय विभेद गरेपछि उनी न्याय माग्दै आइरहेका छन् । यहीँ क्रममा ती अनलाइन पोर्टलहरुले आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार फैलाएको भन्दै काउन्सिलमा उजुरी दिएकी छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।