६ असार,काठमाण्डौ ।
कोरोनाभाईरसको नियन्त्रणका लागि राजधानी काठमाण्डौमा थप एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । तर,लकडाउनलाई खुकुलो बनाउदै निजि सवारी साधन जोर-बिजोर प्रणालीमा चलाउन पाउने भएको छ । आइतवार साँझ बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाका प्रावधानहरूलाई पहिलेकोभन्दा थप खुकुलो बनाउँदै त्यसलाई एकसाता
बढाउने निर्णय गरेको हो । त्यस्तै ट्याक्सीले पनि दूरी कायम गर्दै यात्रु राखेर जोरबिजोर प्रणालीमा सेवा दिनसक्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए। अन्य सार्वजनिक सवारीसाधन भने तत्काल चलाउन नपाइने अधिकारीहरूले बताए। त्यस्तै खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू पहिलेकै जस्तो बिहान ११ बजेसम्म खुल्न पाउने छन्।
मङ्गलवारदेखि लागु हुने नयाँ निषेधाज्ञामा बार अनुसार अन्य पसल समेत खुल्न पाउने भएका छन् । पसलहरू बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने भएको हो । त्यस्तै बैंक तथा वित्तिय संस्थाहरूले पनि स्वास्थ्य मापदण्ड अपनाएर न्यूनतम जनशक्तिमा सेवा दिन पाउने भएका छन्। नयाँ निषेधाज्ञामा ग्रोसरी बाहेकका डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी तथा गिफ्ट पसल र टेलरिङ सोमवार, बुधवार र शुक्रवार खुल्न पाउने भएका छन्।
यस्तै सुनचाँदी, भाँडा, भान्छाजन्य सामान, विद्युतीय घरायसी सामान, सवारीसाधन बिक्री कक्ष, सवारीसाधनका पार्टपुर्जाहरू, विद्युतीय सामग्रीहरू बिक्री गर्ने पसललगायतका लागि आइतवार, मङ्गलवार र बिहीवारको दिन तोकिएको छ । निर्माणजन्य सामग्रीका पसलहरू (हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर र कार्पेट) का लागि भने बार तोकिएको छैन । यस्ता पसलहरू बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्न पाउनेछन् ।







