२० जेठ,काठमाण्डौ ।
बेलायती मिडियाले नेपालमा कोरोना भाईरसको नयाँ भेरिन्यट देखा परेको भन्दै समाचार प्रकाशित गरेपछि त्यसको आलोचना भएको छ । बेलायतको डेलीमेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको समाचार प्रकाशित गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि त्यसैलाई उद्धृत गर्दै समाचार दिइरहेका छन् । समाचार प्रकाशित भएलगत्तै विश्व स्वास्थ्य संगठनले नेपालमा नयाँ
भेरियन्ट देखिएको पुष्टि नभएको स्पष्ट पारेको छ ।स्वास्थ्य मन्त्रालयले बेलायतको सम्बन्धित निकायलाई पनि यसबारेमा प्रश्न उठाउँदै चिठी लेखेको छ ।डेली मेलले नेपालमा देखिएको कोरोनाको नयाँ भेरिएन्टका कारण नेपालमा छुट्टी मनाउन जानु चुनौतीपूर्ण रहेको लेखेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा कुनै नयाँ भेरियन्ट नदेखिएको स्पष्ट पारेका छन् ।
पौडेलका अनुसार नेपालबाट विदेश गएका नेपालीहरूको परीक्षण विभिन्न देशमा भइरहेको छ । तर, कुनै पनि देशमा नयाँ भेरिएन्ट देखिएको जानकारी आएको छैन ।’विदेशी मिडियाले समाचार छापेपछि त्यसबारे नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न खोजी रहेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि नेपालमा कुनै नयाँ भेरियन्ट हालसम्म पुष्टि नभएको बताएको छ ।








