६ जेठ,काठमाण्डौ ।
कोरोना महामारीका कारण जारी निषेधाज्ञामा भारतीय लगायत तेस्रो मुलुकका विदेशीहरुका लागि खुला गरिएका चार्टर उडानमा नेपाली पनि विदेश जान पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार गरेको निर्णय मन्त्रालयले बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ ।
‘नियममित उडान नभएको वर्तमान अवस्थामा चार्टर उडान गर्ने अनुमति प्राप्त उडानहरुमा विदेशी नागरिक र नेपाली नागरिकसमेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान गर्ने भनी वैशाख २९ गते माननीय मन्त्रीस्तरमा निर्णय भएको हुँदा सोहीअनुसार आवश्यक कायार्थ आदेशानुसार अनुरोध छ,’ मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख छ ।
यो निर्णयसँगै अब नेपालमा बिदामा आएका विद्यार्थी तथा विभिन्न मुलुकमा काम गर्ने कामदारलगायत नेपाली राहदानी भएकाले चार्टर उडानमा विदेश जान बाटो खुला गरिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।दूतावासको अनुरोधमा अब हुन लागेका चार वटा उडानबाट पनि विभिन्न मुलुक जान चाहने नेपालीले टिकट खरिद गर्न सक्ने बताए ।‘छुट्टी मनाउन नेपाल आएर रोकिएका नेपालीलाई पनि सजिलो पार्न खोजिएको हो,’ बुधबार साँझ सहसचिव लामिछानेले कान्तिपुरसँग भने । त्यसैगरी मन्त्रालयले जेठ १८ गतेदेखि पूर्वमा चीन, मलेसिया र पश्चिममा दोहा नियमित उडान सुचारु गर्ने तयारी गरेको उनले बताए ।








