सरकार तत्काल लकडाउन गर्ने पक्षमा छैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताउनु भएको छ । नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

उहाँले विश्वका कतिपय देश लकडाउनमा पुगिसके पनि सरकारले सतर्कता विधिलाई नै अघि सारेको बताउनुभएको हो । परिस्थिति बिग्रियो भने त्यहाँ पुग्नुपर्ने भए पनि अहिले नै सोच नरहेको भन्दै प्रधानमन्त्री ओलीले सावधानी अपनाउन सबैलाई अपिल पनि गर्नुभयो ।

उहाँले कतिपयले प्रधानमन्त्रीले लकडाउनको धम्की दिएको भन्दै आफू त्यो पक्षमा नरहेको जिकिर गर्नुभएको छ । उहाँले सरकारले विकास निर्माणका कामलाई उच्च प्राथमिकताका राखेकाले निराशा जगाउन खोजिएका प्रयासहरु मान्य नहुने तर्क गर्नुभयो ।

उहाँले लामो समयदेखिको प्रतीक्षामा रहेका मेलम्ची खानेपानी काठमाडौंमा ल्याएको भन्दै देशभर विकास निर्माणका कामले तीव्रता पाएको बताउनुभयो ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले विदेशा असुरक्षा रहेकाले देशभित्रै रहेर उपयुक्त रोजगारीका अवसर खोज्न आग्रह गर्नुभयो । उहाँले युवाहरुको दक्षता र सीपको प्रयोग देशको विकासमा लगाउनु आग्रह पनि गर्नुभयो ।

ओलीले मुलुकमा अब कुनै पनि ‘हिंसाको अवलम्बन गर्ने समूह’ नरहेको पनि बताउनु भयो । ‘हिंसाको माध्यमबाट राजनीतिक अभिष्ट पूरा गर्ने’ कुनै पनि समूह नरहेको उहाँले ‘हिंसा अवलम्बन गरेको समूहलाई’ शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याइएकाले अब मुलुकमा हिंसा नहुने बताउनुभयो ।

‘गए वर्ष (२०७६) मा जसरी हामीले पृथकतावादलाई अन्त्य गर्दै राष्ट्रिय एकताको सुरुवात गर्यौँ, यस वर्ष (२०७७) मा पनि हामीले राजनीतिक उपलब्धि प्राप्त गर्यौँ’, उहाँले भन्नुभयो, ‘हिंसाको बाटो अवलम्बन गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा लिएर आएका छौँ । अब देशमा हिंसाको राजनीति छैन ।’

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।