२४ चैत्र,काठमाण्डौ ।
नेपालमा विगत केही दिनयता लगातार २ सयभन्दा बढी संक्रमित फेला पर्न थालेका छन् । पछिल्लो २४ घन्टामा २ सय ६० जना नयाँ संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार २ सय ४३ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल २ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएकाहरुमा प्रदेश १ का ९, प्रदेश २ मा १३, बागमतीका १ सय ६३ , गण्डकीका ३७, लुम्बिनीका ३२, कर्णालीका ४ तथा सुदूरपश्चिमका ३ रहेका छन् ।थपिएका २ सय ६० जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ८ सय ७० पुगेको छ । यीमध्ये १ हजार ९ सय ७९ सक्रिय संक्रमित अवस्थामा रहेका छन् । देशभर थप १ सय १३ जनाले कोरोना जितेर फर्किएका छन् ।
पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय १३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७३ हजार ४ सय ५५ जना पुगेको छ । निको हुने दर ९८.२ प्रतिशत रहेको छ । मन्त्रालयकाअनुसार हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३६ जनाको मृत्यु भएको छ ।







