चैत्र २२,भारतबाट नेपाल आएका सुदूरपश्चिम प्रदेशका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक र एक जनामा कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
नाकाबाट भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा तीन जनामा नयाँ भेरिएन्टको कोरोना संक्रमणको पुष्टि भएको उहाँले बताउनु भयो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका ती संक्रमित हाल होम आइसोलेसनमा रहेको जनाईएको छ ।
भारतमा तीव्र मात्रामा कोरोना संक्रमण र मृत्युदर बढीरहेका बेला नेपाल पनि भारतबाट निर्वाध आवतजावत भईरहेकाले नयाँ कोरोनाले संक्रमण विस्तार गर्न सक्ने खतरा बढेको देखिएको छ ।
समयमै यसको नियन्त्रणमा प्रभावकारी उपाय चाल्न नसके पछि चूनौती बढ्न सक्ने विज्ञहरुले सुझाव दिदै आएका छन् ।







