बैशाख १८ सोमबार | (रासस)
सरकारले थप २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।चालू प्रकृतिको खर्च जुटाउन नै समस्या भइरहेका बेला सरकारले रकम व्यवस्थापन गर्न राष्ट्र बैंकमार्फत ट्रेजरी बिल बिक्री गरी सो रकम ऋण लिनलागेको हो ।
राष्ट्र बैंकका अनुसार २१ अर्ब १० करोड रुपैयाँ पुरानो ट्रेजर बिल नवीकरण गरिनेछ भने छ अर्ब रुपैयाँ नयाँ बिक्री गरिनेछ ।
ट्रेजरी बिलमा आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल गरिएको थियो । राष्ट्र बैंकका अनुसार ट्रेजरी बिलको निष्काशन वैशाख १९ गते मंगलबार हुनेछ ।
राष्ट्र बैंकले २८ दिन, ९१ दिन, एक सय ८२ दिन र तीन सय ६४ दिन अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । २८ दिनका लागि चार अर्ब रुपैयाँ, ९१ दिनका लागि आठ अर्ब १० करोड रुपैयाँ, एक सय ८२ दिनका लागि १३ अर्ब रुपैयाँ र तीन सय ६४ दिन अवधिका लागि दुई अर्ब रुपैयाँको बिल बोलकबोलमार्फत बिक्री गर्नलागेको राष्ट्र बैंकले जनाएको छ ।
यसरी बिक्री गरिने कुल ट्रेजरी बिलमध्ये ९१ दिन अवधिको आठ अर्ब १० करोड रुपैयाँमध्ये पाँच अर्ब १० करोड रुपैयाँ पुरानो नवीकरण गरिनेछ भने तीन अर्ब रुपैयाँ नयाँ बिक्री गरिनेछ ।
यसैगरी एक सय ८२ दिन अवधिको १३ अर्बमध्ये १० अर्ब पुरानो नवीकरण हुनेछ भने तीन अर्ब नयाँ बिक्री गरिनेछ । २८ दिन र तीन सय ६४ दिन अवधिका दुवै ट्रेजरी बिल पुरानो नवीकरण हो ।
२८ दिन अवधिको ट्रेजरी बिल २०८० जेठ १६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।यस्तै ९१ दिन अवधिको २०८० साउन १६ गते, एक सय ८२ दिन अवधिको २०८० कात्तिक १४ गते र तीन सय ६४ दिन अवधिको २०८१ जेठ १८ गते परिपक्व हुनेछ ।
गत साता पनि राष्ट्र बैंकले सरकारको लागि २८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरी आन्तरिक ऋण उठाएको थियो ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारका लागि दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनुपर्नेछ ।
आज बोलकबोल गर्न लागेको ट्रेजरी बिलमध्ये छ अर्ब रुपैयाँ सोही आन्तरिक ऋणको हिस्सा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गरेर सरकारको लागि आन्तरिक ऋण उठाउने गर्छ ।
चालू आर्थिक वर्षको चौथो त्रैमासिकमा राष्ट्र बैंकले एक खर्ब ३८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने तयारी गरेको छ ।
यसको लागि राष्ट्र बैंकले ७५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने तयारी गरेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा उठाइने कुल आन्तरिक ऋणमध्ये एक खर्ब ५० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, एक खर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, पाँच अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र रहेको छ । (आर्थिक दैनिकबाट)








