कुनै एक नेताको स्वार्थ पूरा गरिदिनका लागि तपाईहरु आपसमा नलड्नुहोस् । राम्रोसँग अध्ययन गर्नुहोस्, यो लडाइँ राष्ट्र निर्माणको हुँदै होइन, यो लडाइँ राष्ट्रवादी वा राष्ट्रघातीबीचको हुँदै होइन।
अचेल टोलटोलमा, बस्तीबस्तीमा, शहरमा, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा अनि चिया पसलमा कमरेडहरुको चर्चा छ । एकीकरणका बेलादेखिकै बिवाद बल्झदै फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुस ५ गतेको असंबैधानिक कदमपछि खुलेआम दुई कित्तामा बाँडिएको छ– एक सरकारवादी नेकपा, एक सडकवादी नेकपा ।
दुवै नेकपाहरु गाउँगाउँ–बस्तीबस्तीसम्म पुगेका छन् । गाउँमा एक हुल आउँछ, केही मान्छे जम्मा गर्छ, सरकारवादी गुटलाई गाली गर्छ, फर्किन्छ । अनि अर्को हुल आउँछ, केही मान्छे जम्मा गर्छ, सडकवादी गुटलाई गाली गर्छ, जान्छ ।
यिनीहरुका भाषण न त्यहाँ सहभागी गराइएका सर्वसाधारणले बुझ्छन्, न उनीहरुलाई बुझाउन सक्ने हैसियत छ तिनीहरुको । आफैं पनि पूर्णरुपमा ‘कन्भिन्स’ छैनन् भाषण गर्नेहरु ।
सरकारीवादी गुट सही हो वा सडकवादी गुट सही हो भन्ने छुट्याउन नसकेकाहरु पनि पदको लोभमा, नेताहरुले कृपा गरिदिएको जस तिर्न, जागिरको लोभमा, योजनाको लोभमा झुण्डिएका छन् ।
बिहान सञ्चार माध्यममा गुटका मालिकहरुले जे बोले, दिउँसो भाषणमा त्यत्ति बोल्ने र फर्कने गर्छन् । गुटको र व्यक्तिको चाकरीले उनीहरुलाई विचारशुन्य बनाइदिएको छ ।
जे भए पनि, दुवै गुटले गाउँका साक्षर बेरोजगारहरुलाई ‘बिजनेस’ दिएको छ । आज कसले के बोल्यो, को–को मान्छे सहभागी थिए, कमिटीमा को–को परे, को–को छुटे, यस्तायस्तै बहस छन् अचेल गाउँमा । ‘ए उ ! उ त फलानो गुटमा गएछन् नि । उसले त फेरि गुट फेरेछ नि ।’ यस्तायस्तै बहस छन् अचेल ।हुन त कमरेडहरु को मात्रै होइन, कांग्रेसहरु पनि पसेका छन् गाउँमा । फरक के छ भने कमरेडहरुले एक गुटलाई मात्रै गाली गर्दैछन्, कांग्रेसहरुले समग्र कम्युनिष्टहरुलाई गर्छन् । कम्युनिष्ट आन्दोलनलाई निकम्मा सावित गर्ने प्रयास गर्दैछन् कांग्रेसहरुले ।
इतिहास जे भए पनि पछिल्लो राजनीतिक घटनाक्रमले “कम्युनिष्ट आन्दोलन साँच्चै निकम्मा नै भएको हो त ?” भन्ने प्रश्न उब्जाएकै हो । कांग्रेसका लागि केपी ओलीको यो असंबैधानिक कदम लाज ढाक्ने टालो बनेको छ । कांग्रेसले बिगतमा गरेका यस्तायस्तै र अन्य पनि गल्तीहरु ढाक्ने राम्रो मौका पाएको छ । तर, विचरा कम्युनिष्टहरु औपचारिक कित्ताकाट नहुँदै घेरबार गर्न थालेका छन् ।
तर, कांग्रेसहरुले के गर्दैछन् भन्ने परवाह त पटक्कै छैन् कमरेडहरुमा । अर्को गुटले के गर्दैछ भन्ने ठूलो चिन्ता छ । पार्टी संगठनको काममा कुनै पनि दिन नहिँडेकाहरु पनि अचेल सक्रिय भएका छन् । भलै उनीहरुको ‘बार्गेनिङ्ग’ अझै टुंगिएको छैन होला । त्यसैले साँझ एक गुटको, भोली बिहान अर्कै गुटको भएर आउँदैछन् । तर, दिनभरि भने उनीहरु एउटा गुटको बफादार नै हुन्छन् ।
उनीहरुलाई आफ्नो गुटभन्दा बिरोधी गुट बलियो नहोस् भन्ने मात्रै चिन्ता छ । गुटकै चिन्ताका कारण लामो समयदेखि सँगै आन्दोलन गरेका, संगठन निर्माण गरेका कति कमरेडहरु त कांग्रेसले टिपेर लगिसक्यो, त्यसमा कुनै चिन्ता छैन, गुटभक्त कमरेडहरुलाई । ‘बरु कांग्रेस होस्, तर अर्को गुटमा नजावस्’ भन्ने चिन्ता छ उनीहरुमा ।
सायद गुटका मालिकहरुको स्कुलिङ्ग यस्तै छ । लामो समयदेखिको ईमानदार कार्यकर्ता आज किन अर्को पार्टीमा जाँदैछ भन्ने चिन्ता भन्दा पनि कार्यकर्ता किन अर्को गुटमा जाँदैछ भन्ने पो चिन्ता छ त । अनि अहिलेसम्म फलानो किन खुलेन भन्ने पो चर्चा छ त ।
यस्तो चिन्ता किन हो कमरेड ! जति चिन्ता गरे पनि अबको निर्वाचनमा दुबै गुट पत्तासाप नै हुने हो । दुबै गुटको मिलाएर पनि अहिलेको कांग्रेसको हैसियत पुग्छ कि पुग्दैन थाह छैन । त्यसैले फलानो गुट बलियो हुन्छ कि भन्ने चिन्ता पूर्णरुपमा त्यागेकै राम्रो हो । फलानो कार्यकर्ता त्यो गुटमा गई पो हाल्छ कि भन्ने चिन्ता पनि त्यागे हुन्छ, जो जहाँ गए पनि फरक खासै पर्दैन ।
गुटका कारण लामो समयदेखिको सम्वन्ध तोड्न नखोज्नुहोस् । सम्वन्धमा चिसो पस्ने गरि शव्दबाण प्रहार नगर्नुहोस् । बरु भेट हुँदा नमस्कार भन्न मिल्ने, बिरामी पर्दा सन्चो–बिसन्चो सोध्न मिल्ने, परिवारमा बिपत्ति पर्दा समवेदना दिन मिल्ने, खुशी क्षणमा बधाई दिन मिल्ने ठाउँ राखौं । आग्रह–पूर्वाग्रहबाट ओतप्रोत भएर किन व्यर्थमा लागिरहनु कमरेड ?
केपी ओलीलाई नराम्रो भनेकै कारण पल्लाघरको दाइ अपराधी हुने होइन, प्रचण्डलाई गाली गरेकै कारण काका शत्रु भइहाल्ने होइन । न तपाईहरुले सराप्दैमा केपी वा प्रचण्डको केही बिग्रिने छ । केपी ओलीलाई वा प्रचण्डलाई तपाईले ‘नमस्ते’ भन्न, उनीहरुको अनुहार हेर्न पनि लाइन बस्नु पर्छ । तर, काकालाई ढोक्न तपाईले कसैको अनुमति लिन पर्दैन । पल्लाघरे दाइसँग साँझ बिहानैको भेट हुन्छ । दाइ सधैं दाइ नै रहन्छन् । काका सधैं काका नै रहन्छन् ।
हिजो संगठन निर्माण गर्न तपाईको गाउँमा न केपी ओली आएका हुन्, न प्रचण्ड । तपाईको गाउँको संगठन तपाईहरु आफैंले मिलेर निर्माण गर्नुभएको हो । पुस ५ गते उता तपाईहरु एकअर्काका ‘कमरेड’ नै हुनुहुन्थ्यो । आज पनि कमरेड नै हुन सिक्नुहोस् ।
केपी ओलीको स्वार्थ पूरा गरिदिनका लागि वा प्रचण्डको स्वार्थ पूरा गरिदिनका लागि तपाईहरु आपसमा नलड्नुहोस् । राम्रोसँग अध्ययन गर्नुहोस्, यो लडाइँ राष्ट्र निर्माणको हुँदै होइन, यो लडाइँ राष्ट्रवादी वा राष्ट्रघातीबीचको हुँदै होइन । यो स्वार्थीहरुको लडाइँ हो, बस् ।
नेपालको दलीय राजनीतिको इतिहास, त्यसमा पनि कम्युनिष्ट भन्ने दलहरुको इतिहास हेर्दा कुन कतिबेला फुट्छ, कुन कतिबेला जुट्छ, कार्यकर्ताहरुलाई थाहै हुँदैन । आज एकोहोरो रुपमा ओलीको धज्जी उडाउनेहरुले भोलि फेरि तिनै ओलीलाई र प्रचण्डको खोइरो खन्नेहरुले भोलि फेरि तिनै प्रचण्डलाई सलाम ठोक्नु पर्ने, फूलमालाले स्वागत गर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । किनकी पार्टी एकीकरण वा विभाजन न कार्यकर्ताको चाहानाले हुन्छ, न कार्यकर्ताको सल्लाहमा हुन्छ ।
यो उहिलेदेखिकै चलन हो, कम्युनिष्टमा पनि र अन्य दलहरुमा पनि । नेताहरुले हात मिलाए भने पार्टी मिल्यो, नेताहरुले औंला उठाए भने पार्टी फुट्यो ।
त्यसैले राजनीतिलाई थप दुर्गन्धित नवनाऔं । नेताहरुको जुंगाको लडाइका साक्षी बन्नुपर्ने, नेताहरुका कारण आफ्ना हितैषीलाई अपमानित गर्नुपर्ने, हिजो संगै हुँदा भएका मित्रवत् व्यवहारहरुलाई शत्रुतामा परिणत गरिहाल्नुपर्ने कुनै कारण छैन ।
चिन्ता गर्नु पर्ने छ भने कसरी सामाजिक सदभाव, व्यक्तिगत सम्वन्ध बरकरार राख्ने भन्ने विषयमा चिन्ता गरौं । कुन गुट ठूलो भयो, कुन गुटले बढी गाली गर्न सक्यो, कुन गुटको भेलामा को व्यक्ति गयो भन्ने कुराको चिन्ता लिन थाल्नुभयो भने यसले अरुलाई भन्दा आफैंलाई बढी घाटा हुन सक्छ । बेलैमा बुद्धि पुर्याऔं, अरुको खोइरो खन्नुभन्दा आफ्नो हैसियतको ख्याल गरौंं ।
तपाईले सार्वजनिकरुपमा व्यक्त गरेका विचारहरु, सामाजिक सञ्जालमा पोष्याएका सामग्रीहरु तपाईको तपाईका आमाबुवा, दाजुभाइ, दिदीबहिनी, छोराछोरी र आफन्तहरुले पनि हेरिरहेका/सुनिरहेका हुन सक्छन् । उनीहरुले तपाईका अभिव्यक्तिबाट तपाईप्रतिको धारणा विकास गरेछन् भने के होला भन्ने पनि चिन्ता गरौं।
हाम्रा पुर्खाले आर्जेर छोडेको देश जस्तो भए पनि यही हो। हामीले यसैलाई स्याहार–सम्भार गरेर समुन्नत तुल्याएर तथा सबै जनाले एक आपसमा सद्भाव राखेर शान्तिपूर्वक बस्ने परम्परा बसालेर नेपालका भावी सन्ततिका लागि राम्रो, रमाइलो र समृद्ध नेपाल छाडेर जाने पौरख गर्न थाल्नुपरेको छ। त्यसो गर्न सकेमा यो देशको सांस्कृतिक, धार्मिक, जातीय र भाषिक विविधता भविष्यमा आकर्षक गहना बनेर देखा पर्न सक्तछ। संसारलाई यस्तो उदाहरण देखाएर सबैको सम्मान र आदर पाउनसक्ने परम्पराको शुरूआत गरिदिएमा पछिका पुस्ताका नेपालीबाट आजको परिपक्व पुस्ताले श्रद्धा र सम्मान पाउन सक्नेछ।
त्यसैले संकटलाई टार्न खोज्ने सबै प्रकारको प्रयत्नमा हामीहरु को सहभागिता हुनु अनिवार्य भइसकेको छ। उनीहरूको भनाइलाई पनि धैर्यपूर्वक सुनिदिएर सभ्य र शिष्ट भाषामा छलफल गर्नुपर्ने बेला आइसकेको छ। भिडन्त हुनसक्ने सम्भावित कारणहरूका बारेमा खोजी तलासी र त्यसको निराकरण गर्ने उपायहरूको अवलम्बन गर्ने जमर्को गर्नु व्याहारिक, सान्दर्भिक र बुद्धिमानी ठहर्ने समय पनि आइसकेको छ।








