८ बैशाख,काठमाडौं ।
कोरोनाभाइरसको संक्रमणकालमा निकै बिबादित बनेको चीनबाट आयात गरिएको स्वास्थ्य सामाग्री ठेकदार कम्पनी ओम्नी बिजनेश कर्पोरेट इन्टरनेसनल प्रालिलाई भुक्तानी दिन स्वास्थ्य सेवा विभागका लेखा अधिकृत दिवाकर घिमिरेले असहमति जनाएका छन् ।केहि दिन अघि विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भुक्तानीका लागि आदेश दिइसकेका छन् । यद्दपी श्रेष्ठको निर्देशनलाई लेखा अधिकृत घिमिरेले इन्कार गरेका हुन् । उनले उप-प्रधानमन्त्री ईश्वर पोख्रेलको दबाबलाई समेत वास्ता गरेनन् ।
ओम्नीले आफूले ल्याएको सामानबापत २८ करोडको दाबी सहितको पत्र विभागमा पठाएको छ । सम्झौता अनुसार ओम्नीले स्वास्थ्य सामग्री नल्याएको भन्दै भुक्तानी दिन नसकिने राय दिएपछि विभागका तत्कालीन लेखा प्रमुख केशव प्रसाईंलाई कारागार महाशाखा सरुवा गरी घिमिरेलाई ल्याइएको हो ।कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटबाट ल्याइएका घिमिरेले समेत ओम्नीलाई भुक्तानी दिन नसक्ने राय दिएपछि सरकार थप समस्यमा परेको छ ।
सार्वजनिक खरिद ऐनमा कामको मूल्यांकन गरेर मात्रै भुक्तानी दिनुपर्ने तथा ठेक्का तोडेको अवस्थामा सार्वजनिक निकायलाई भएको नोक्सानीको क्षतिपूर्ति लिनुपर्ने व्यवस्था अनुसार भुक्तानी दिन नसकिने लेखाको मत रहेको छ ।ओम्नीसँगको सम्झौता तोडेर धरौटी समेत जफत गर्ने र ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय सरकारले गरेकाले भुक्तानी दिन नसकिने लेखाको राय छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
सरकारले चीनबाट कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गरी ल्याउन ओम्नीसँग १ अर्ब २४ करोडको सम्झौता गरेको थियो । सम्झौताअनुसार स्वास्थ्य सामग्री ल्याउन नसकेको भन्दै सरकारले सम्झौता रद्द गरेको थियो ।








