सन्नाटा छ सवैतिर……

 

सन्नाटा छ सवैतिर खै, कस्तो यो परिवेश हो ?
लाग्छ घरी घरी मलाई ,यो मुर्दाहरूको देश हो !

बोल्ने वेला बोल्दैन कोही , मुख सिएर बस्छ
बोल्यो भने मालिकलाई चिप्लो मात्रै घस्छ
हस हजुर हुन्छ मालिक एति मात्रै सुनिन्छ
थाहा छैन तिनको वोली खै केले पो थुनिन्छ ?
सन्नाटा छ सवैतिर….

शासक मुखिया हाँसो ठट्टा गरेर दिन काट्छ !
शोषित दुखिया ठट्टा सुन्छ आफ्नै ओठ चाट्छ !
भोकै भोकै जनता राखी शासक लुटिरहेछ
हाँडी हो देश हामी मकै शासक भुटिरहेछ
सन्नाटा छ सवैतिर …..

आलोचनाको अ सुनिन्न दलालीको छ राज
सास त फेर्छौं ज्युँदा भन्न लागिरहेछ लाज
एकै चिम्टी कहीं नि छैन मन अडिने ठाउँ
निराशमा छ सारा सहर निराशमा छ गाउँ
सन्नाटा छ सवैतिर ……

वुध्दिजीवी भनिनेहरू छन भजन गर्नै व्यस्त
मालिस गर्छन मालिकको बन्दै दङदास मस्त
घोच्यो ऐया भन्दैन कोही चिमोटी के पो हुन्छ !
हाम्रा नरम सुझावले भन्नोस कसरी सुन्छ ?
सन्नाटा छ सवैतिर

-बलराम तिमल्सिना

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।