इजरायल जाने श्रमिकको भाषा परीक्षाको नतिजा सार्बजनिक

२९ भाद्र, काठमाडौं ।
इजरायल जान इच्छुक युवाले दिएको आंग्रेजी भाषा परीक्षाको नतिजा मंगलबार सार्वजनिक भएको छ । परीक्षामा दुई हजार ३९ जना पास भएका छन् । जसमध्ये एक हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन् । ओएमआर प्रविधिबाट उत्तरपुस्तिका जाँच हुने भएकाले नतिजा छिटो आएको बताईएको छ । परीक्षामा सहभागी हुन ९ हजार ६ सय ९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षाका लागि प्रवेश पत्र बुझेका थिए । त्यसमध्ये परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए । ६ सय ९२ जना अनुपस्थित रहेका थिए । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको थियो ।

अब भाषा परीक्षा पास भएकाहरुको अन्तरवार्ता लिइनेछ । अन्तरवार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिनेछ । छनोट भएकाहरुको सूची इजरायल सरकारलाई पठाइनेछ । इजरायलले सो सूचीबाट कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको छनोट गर्नेछ ।

छनोट प्रक्रिया सकिएपछि ७सय महिला र ३सय पुरुष इजरायल रोजगारको लागि जान पाउनेछन् । नेपाल सरकार र इजरायलबीच इजरायलमा श्रमिक लैजाने विषयमा २०७७ माघ ८ गते समझदारी भएको थियो । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।