हङकङको ‘जिरे खुर्सानी’ आगलागीमा मृत्यु ७ नेपालीको सनाखत,४ जनाको बाँकी

१ मंसिर,काठमाण्डौ ।
हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । मृत्यु हुनेमध्ये सबै नेपाली रहेको साहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिए । मृत्यु हुनेहरुमा तीन नेपाली परिवारभित्रका रहेको पनि गुरुङले बताए । मृत्यु हुने मध्ये ७ जना नेपालीको भने सनाखत भइसकेको छ । आगलागीमा परी मृत्यु हुनेमा ३८ बर्षीय युवराज कँडेल, १३ बर्षीय कृतिका कँडेल, ३५ बर्षीय राजबाबु नेपाल, ९ बर्षीय रियान नेपाल र ३९ बर्षीय शेरबहादुर गुरुङ छन् । यसैगरी, ३२ बर्षीय अनिता निरौला र ४० बर्षीय विनिता तामाङको पनि मृत्यु भएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिए । अरु मृतकको सनाखत हुन बाँकी रहेको छ ।

अध्यक्ष गुरुङका अनुसार अरु ३ जना पुरुष र ४ जना महिलाको अबस्था गम्भीर रहेको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ ।  जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो । तिहारको दिपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको बताइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।