बेल्जियममा पत्रकारलाई ज्यान लिने धम्की, वीरेन्द्र मल्ललाई संघको चेतावनी

५ भाद्र, लिस्बन ।
नेपाल पत्रकार महासंघ बेल्जियम शाखाकी कोषाध्यक्ष पत्रकार निलम घिमिरे सापकोटालाई ज्यान मार्ने धम्की दिइएको छ । बेल्जियमकै वीरेन्द्र मल्ललगायतको टोलीले रातिको समयमा घरमै गएर ज्यान मार्ने धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको गम्भीर ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्तिमार्फत कडा भ्रर्त्सना गरिएको छ ।नेपाल प्लसमा प्रकाशित ‘बेल्जियममा तीन दर्जनभन्दा बढी नेपालीमा कोरोना : चारजना आइसीयुमा’ शीर्षकको समाचारलाई लिएर मल्ल सहितका व्यक्तिहरुले पत्रकार घिमिरेलाई अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको पत्रकार घिमेरेले बताएकी छन् ।समाचारमा चित्त नबुझे कानूनी रुपमा उपचार खोज्ने, सम्बन्धित संचार माध्यममा खण्डन पठाउने लगायतका वैधानिक उपाय हुँदाहुँदै व्यक्तिगत रुपमा दुर्व्यवहारमा उत्रिनु बिल्कूल गलत र भ्रर्त्सनायोग्य भएको महासंघले उल्लेख गरेको छ ।

कोरोनाबाट जोगिउँ र जोगाउँ, समूदायमा कोरोना नफैलियोस् भनी सचेतना फैलाउने उद्देश्यले प्रकाशित समाचारलाई लिएर पत्रकारमाथि दुर्व्यवहार गर्नु आपतिजनक र कानुनको बर्खिलाप भएको भन्दै ‘निर्भिक रुपमा सत्यतथ्य समाचार प्रेषण गर्ने पत्रकारलाई धम्की र दुर्व्यवहार गर्नु समुदायको हितमा नहुने’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अब उप्रान्त यस प्रकारका गतिविधि जारी रहेमा सम्बन्धित मुलुकको कानून बमोजिम पत्रकार घिमिरेको सुरक्षाको निम्ति आवश्यक कानूनी सहयोग खोज्न संस्था अघि बढ्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । शाखाका सचिव शेरबहादुर छन्त्याल र संयोजक ओम शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा तुरुन्तै गल्ती सच्याउन चेतावनी दिइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।