२० जेठ,काठमाण्डौ ।
भारतीय गृहमन्त्री अमित शाहले भारतले कसैको सीमा नमिचेको बताएका छन् । भारतीय टेलिभिजन न्युज १८ मा अन्तर्वार्ताका क्रममा नेपालसहित भारतका अन्य छिमेकी राष्ट्रहरुको सम्बन्ध बिग्रिएको बारे सोधिएको प्रश्नमा उनले भारतले कसैको सीमा उल्लंघन नगरेको बताएका हुन् ।
नेपाल, चीन र पाकिस्तान हाल भारतको विरोधमा रहेको विषयलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नमा शाहले भने, ‘अहिले सबै जना कोरोनाको संकटमा छ । मैले पहिला पनि भनिसकें हाम्रो सीमा सुरक्षाका लागि यो सरकार दृढ रहेको छ । जहाँसम्म फल्स फ्ल्यागको कुरा छ हामीले कसैको सीमा उल्लंघन गरेका छैनौं । तर कसैले हाम्रो सीमा र सेनाको सम्मान गर्दैन भने उसलाई पाठ सिकाउन पछि हटेका छैनौं । चाहे सर्जिकल स्ट्राइक होस् या एयर स्ट्राइक होस् । यो हाम्रो रेकर्ड विश्वमाझ स्थापित भइसकेको छ । यो हाम्रो रक्षा नीति पनि हो ।’
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि फल्स फ्ल्यागको आरोप लगाएका थिए । यस्तै भारत र चीनबीच पनि सीमामा समस्या उत्पन्न भइरहेको छ । भारत र चीनले कुटनितिक माध्यमबाट समस्या हल गर्ने भएतापनि सीमामा दुवै देशले सेनाको उपस्थिति बढाउँदै लगेका छन् । एजेन्सी








