दुबईमा नेपाली सेफलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं,

दुबईको रोदा अल मुरोज होटलमा कार्यरत  नेपाली सेफ लाल तामाङले मध्यपूर्वको प्रतिष्ठित अवार्ड प्राप्त गरेका छन् । तामाङले ‘सिल्भर लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गरेका हुन्।गत जुन १२ मा दुबईको लक्जरी होटल रिक्सोस प्रिमियम जेबिआरमा भएको ‘मिडिल-इस्ट हस्पिटालिटी एक्सलेन्स अवार्ड २०१९’ अन्तर्गत तामाङले सो अवार्ड हात पारेका हुन्।मध्यपूर्वमा कार्यरत ५ सयभन्दा बढी सिनियर सेफहरुमध्येबाट तामाङ उत्कृष्ट ठहरिएका हुन्। कुनै पनि नेपाली सेफले सो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अवार्ड पाएको यो पहिलो पटक भएको पनि तामाङ तथा होटलले समेत दाबी गरेको छ।

सेफ तामाङ पछिल्लो २४ वर्षदेखि पकवान र भान्सा व्यवस्थापनका क्षेत्रमा अनुभवप्राप्त व्यक्ति हुन्। खाना र श्रमशक्तिमा लाग्ने खर्च व्यवस्थापन गर्दै तामाङले होटलको कमाइमा वृद्धि गर्न महत्वपूर्ण योगदान दिएको रोदा अल मुरोज होटलले एक विज्ञप्तिमार्फत जनाएको छ।

‘भान्साको व्यवस्थापन सम्बन्धी सबै क्षेत्र तथा तहहरुमा उच्च तहको योग्यता भएका तामाङ विशेषगरी पकवान तयार गर्न तथा तयार भएका पकवान र पेय पदार्थको डेकोरेसन एवम् प्रस्तुतिमा समेत दखल राख्छन्,’ विज्ञप्तिमा भनिएको छ।

उनले भान्सा व्यवस्थापनका क्रममा मानव स्वास्थ्य र सरसफाइलाई अधिकतम ध्यानमा राख्दै आवश्यक सबै उपायहरु अवलम्बन गर्दै आएका होटलले जनाएको छ। होटल म्यानेजमेन्ट एन्ड क्याटरिङ टेक्नोलोजीमा स्नातक तहको पढाइ सकाएपछि तामाङले कुलिनरीमा स्नातकोत्तर गरेका थिए। यी दुवै तहको अध्ययन उनले नेपाल सरकारको नेपाल एकेडमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम)मा गरेका थिए।

सन् १९९५ मा स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उनले भान्सा व्यवस्थापन र पकवान क्षेत्रमा करियर सुरु गरेका हुन्। अनुभव हासिल गर्ने सुरुवाती अवस्थामा उनले भारतको नयाँ दिल्लीस्थित होटल अशोकामा तालिम लिएका थिए। सो क्रममा उनले विशेषगरी कन्टिनेन्टल, चाइनिज, बेकरी र कन्फेक्सनरी खानाहरुबारे जान्न ध्यान केन्द्रित गरेका थिए।

सन् १९९६ र १९९८ को बीचमा उनी काठमाडौंको सेराटन होटल (हालको एभरेस्ट होटल) सँग जोडिए। यहाँ रहँदा उनले थाई र चाइनिज परिकारका अलावा कफी सपमा समेत काम गरे।

उनी सोही होटलको चेन होटलको रुपमा रहेको दोहा सेराटनमा सन् १९९८ मा सिडिपीको रुपमा सरुवा भए। तामाङले बेन्क्वेट टिमको महत्वपूर्ण सदस्यको रुपमा १८ महिनासम्म त्यहाँ काम गरे। उक्त टिमले १ हजार ५ सय व्यक्ति अट्ने बलरुम र ८ वटा कन्फ्रेन्स रुममा खाना व्यवस्थापन गर्थ्यो।

दुबईमा जब विश्व केन्द्रित विकासका गतिविधिहरु सुरु हुन थाले, उनलाई इमिरेट्स टावर होटलले सुस सेफको रुपमा बोलायो। सन् २००१ मा उक्त होटलमा काम थालेका उनले नयाँ टोली र फरक वातावरणमा पनि आफूलाई प्रमाणित गर्दै लगे।

त्यसको ४ वर्षपछि उनी सिनियर सुस सेफ बने। सन् २००८ सम्म सोही पदमा रहेर काम गरेका उनलाई त्यसपछि भने प्रशासन तथा भान्सा व्यवस्थापनमा जिम्मेवारी दिइयो।सो क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय खानाका परिकारहरु इटालियन, फ्रेन्च, जर्मन, इंग्लिस, स्पानिस, मेक्सिकन, चाइनिज, थाई, इन्डोनेसियन र इन्डियनलगायतमा आफ्नो कार्यकौशल देखाए।

सन् २००८ देखि २०१३ सम्म भने उनी मेदा ग्रुपको कार्यकारी सेफमा नियुक्ति लिएर काम गरे। सो क्रममा उनको जिम्मेवारीमा ७ प्रकारका खाना तथा पेय पदार्थको व्यवस्थापन परेको थियो। यसबाहेक पनि तामाङले इटालियन पिजा, कफी सप, लबी लाउन्ज, अल सराव बार, पुल बार र रुम सर्भिसमा समेत आफ्नो अनुभव तथ कार्यदक्षता देखाउने अवसर पाए।

भान्सा सञ्चालन, तालिम, हाइजिन, मेनु प्लानिङलगायतका क्षेत्रमा समेत काम गरेका उनले नयाँ मेनु तयार गर्ने सम्मको जिम्मेवारी निभाएका थिए। मेदा ग्रुपमा ५ वर्षभन्दा बढी कार्यअनुभव लिइसकेपछि उनी सन् २०१३ मा अल मुराज रोटाना होटलमा कार्यकारी सुस सेफको रुपमा प्रवेश गरे। रोटानाले सो समयमा मध्यपूर्वका राष्ट्रहरुमा आफ्नो बजार विस्तार कार्यलाई तीव्रता दिएको थियो।

सन् २०१८ जनवरी १ देखि उनले फुड प्रोडक्सन टिममा रहेर रोदा अल मुरोज होटलमा कार्यकारी सेफको रुपमा काम गरिरहेका छन्।दुबईमा धेरैको संख्यामा नेपाली सेफहरु कार्यरत छन् । तामाङको यस किसिमको सफलताले नेपाली सेफहरुमा उर्जा समेत मिलेको छ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।