बीबीसी मास्टर सेफको अन्तिम चरण बाट बाहिरिए सन्तोष साह

३ पुष,काठमाण्डौ ।
‘मास्टर सेफः द प्रोफेसनल्स् २०२०’ को उत्कृष्ट तीन बाट नेपाली संतोष शाह बाहिरिएका छन् । सन्तोष शिर्ष उपाधि बाट पछाडी परे पनि नेपाली खानालाई भने विश्व सामू जिताउन सफल भएका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा उनको मास्टर सेफ च्याम्पियन बन्ने सपना अधुरै रह्यो । नेपाली खाना विश्व सामू परिचित गराउने उनको सपनालाई कसैले रोक्न सकेनन्। प्रत्येक पटक नेपाली खानाको स्वाद चखाएर उत्कृष्ट तीनमा पुगेका सन्तोषलाई उपाधिबाट बेलायती सेफ आलेक्स वेवले हराएका हुन् ।तर, ३२ जना व्यावसायिक सेफबीच शुरु भएको उक्त प्रतियोगितामा उत्कृष्ट तीनमा पर्नुलाई पनि उनले ठूलो उपलब्धि मानेका छन् । विश्वसामु नेपाली खाना चिनाउन र लाखौं नेपालीको मन जित्न सफल भएकाले उपाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्रतिक्रिया दिएका छन् ।

आफ्नै स्वाभिमान देखाएका सन्तोषले पनि उपाधि भन्दा पनि नेपाली परिकारलाई परिचित गराउन सकेको भन्दै खुशी व्यक्त गरेका छन् । करिब ५ सातादेखि चलेको तीव्र प्रतिस्पर्धामा सन्तोषले नेपाली परिकार मात्र पस्किएर आफ्नो उपस्थिति दरिलो बनाएका थिए । हिमाल, पहाड र तराईको खाना र नेपाली भेषभूषा एवं संस्कृति विश्वसामु समेत चिनाएका थिए ।

उनी बिहीबारको अन्तिम प्रतिष्प्रर्धामा नेपाली ढाका टोपीमा सजिएका देखिएका थिए भने नेपाली राष्ट्रिय झण्डा समेत प्रदर्शन गरेका थिए । संतोषको सफलतमा विश्वभरका नेपालीहरुले खुसी ब्यक्त गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।