२ भाद्र,काठमाण्डौ ।
नेपालीहरुको उद्धारका लागि दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान आ करीब एक सय यात्रुलाई अलपत्र छाडेर रित्तै फर्कने भएको छ । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रु अलपत्र परेका छन् । हिजो बाट मात्रै पाँचौ चरणको उद्धार उडान शुरु गर्ने भनेर नेपाल वायुसेवा निगमको जहाज त्यता गएको थियो ।
सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्रालयलाई उद्धार उडान रोक्न भन्दै पत्राचार गरे पछि निगमको जहाज रित्तै फर्कन लागेको हो । सीसीएमसीले केही स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको कारण देखाउँदै उद्धार उडान रोक्न पत्र पठाएको थियो । सीसीएमसीको सोही आग्रह अनुसार विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरेसंगै विदेशका एयरपोर्टहरुमा यात्रुहरु अलपत्र परेका हुन् ।
स्वदेश फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगेका नेपालीहरु विमान रित्तै फर्किने खबरले थप पीडित भएका छन् । उनीहरुले आफूहरुको सम्पूर्ण खर्च नेपाल एयरलाइन्स वा उडान रद्द गराउने सीसीएमसी र यसका प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यहोर्नुपर्ने माग गरेका छन् । यता नेपाल एयरलाइन्सले भने सरकारको यो निर्णयले एयरपोर्ट पुगेका यात्रुहरुले सास्ती पाएको र निगमलाई समेत घाटा लागेको जनाएको छ ।निगमका प्रवक्ता अर्चना खड्काले सरकारको निर्णयसंगै दुबई पुगेको जहाज पनि रित्तै फर्कन बाध्य भएको जानकारी दिईन् ।यात्रुहरुले टिकट काटेको पैसा फिर्ता पाउने वा अर्को उडान भएपछि व्यवस्थापन गरिने निगमले जनाएको छ । (तस्बिरः यूएईमा विमानस्थलमा पुगेका अलपत्र नेपाली ,तस्बिर : सामाजिक सञ्जाल)








