१६ बैशाख,काठमाण्डौ ।
कोरोनाभाइरसकै कारण नेपालमा करिब पाँच साता देखि जारी लकडाउनले आम सर्बसाधारण र श्रमजिबी बर्गमा ठुलै समस्या परेको छ । कोरोनाकै कारण नेपालमा धेरै बिदेशी नागरीक सहित बिभिन्न देशमा बस्ने नेपालीहरु फसेका छन् ।कोरोनाको महामारी अघि नेपाल पुगेका दक्षिण कोरियाका नेपाली कामदारहरुलाई गैर-आवासीय नेपाली संघ कोरियाको पहलमा नेपालबाट बिमान
चार्टड गरी दक्षिण कोरिया पठाईने भएको छ । कोरिया पठाउनका लागि एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच सोमबार एक सम्झौता भएको एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट हुनेछ । जसमा भिसा सकिन लागेकालाई प्रथमिकता दिइ उडाइनेछ ।
विशेषगरी लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो । आफूले काम गरिरहेको कम्पनीले छिटो फर्कन भनिरहने तर लकडाउनका कारण फर्कन नसक्दा नेपालमा रहेका नेपाली श्रमिक चिन्तित थिए ।
जसका लागि सहयोग गर्न यहाँको एनआरएनए, सामाजिक तथा व्यवसायी सङ्गठनहरूले नेपाल सरकारलाई अनुरोध गरेका थिए । अनुरोधबमोजिम नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकबाटै लकडाउन अवधिमा भए पनि कोरिया सरकारसँग छलफल गरी फर्कनुपर्ने नेपालीलाई कोरिया फर्कन मिल्ने निर्णय गरेको थियो । निर्णयपश्चात एनआरएनए कोरियाले नेपाल एयरलाइन्ससँग विमान चार्टर्ड गर्ने सम्झौता गरेको हो ।
यसरी फर्किने श्रमिकले टिकटवापत एक लाख १३ हजार ७ सय ७५ रुपैँया अप्रिल २९ तारिख दिउँसो २ बजेभित्र बुझाउनु पर्ने हुन्छ । कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ ।







